देशका केही स्थानमा वर्षा र हिमपातकाे सम्भावना

नेपालखोज २०७९ फागुन २२ गते ६:५३

काठमाडाैं । आज (सोमबार) देशका केही स्थानमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावा हुरीको सम्भावना छ ।

यसबाहेक दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया