देशभरका चाम्लिङ राईको खोटाङमा भेला

खोटाङ । भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्वन्धी कार्ययोजना निर्माणका लागि पूर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माडौंसम्मका चाम्लिङ राई दिक्तेलमा भेला भएका हुन् ।
किरात राई चाम्लिङ खाम्बातिम जिल्ला कार्यसमिति खोटाङको व्यवस्थापन एवं किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेलामा पुर्व–पश्चिमका चाम्लिङ राई एउटै थलोमा भेला भएका हुन् । चाम्लिङ राई समुदायको बाहुल्यता रहेको ठाउँका विद्यालयमा चाम्लिङ भाषाको पठन–पाठनलाई व्यापक बनाउने र चाम्लिङ भाषी समुदायको बाहुल्यता रहेको स्थानीय तहमा चाम्लिङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने कार्ययोजना निर्माणका लागि तीन दिने भेला आयोजना गरिएको खाम्बातिमका खाम्वातिमका महासचिव जितकुमार राईले बताए ।
शुभम् फाउण्डेसन, सोल्माको सभाहलमा आयोजना गरिएको भेलामा किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, डा. तारामणी राई, मुन्धुम अध्येता भोगीराज चाम्लिङ, खाम्वातिमका केन्द्रीय अध्यक्ष युवराज राई र उपाध्यक्ष नरबहादुर राईले चाम्लिङ भाषा, धर्म, संस्कार–संस्कृतिका विषयमा कार्यपत्र एबं सांगठनिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यक्रम छ । भेलाको पहिलो दिन डा. राईले ‘चाम्लिङ भाषाको अवस्था र चाम्लिङ भाषाको संमृद्धिको मार्गचित्र’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । बाँकी कार्यपत्र तथा प्रतिबेदन सोमबार प्रस्तुत हुने छन् । महासचिव राईले सांगठनिक प्रतिबेदन पेश गर्ने छन् । कार्यक्रममा विभिन्न जिल्लाको सांगठनिक रिपोर्टिङ पनि हुने खाम्बातिमले जनाएको छ ।
खाम्बातिमको सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेला प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गरेका हुन् । भेला उद्घाटनका क्रममा खोटाङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, चाम्लिङ नछुङ, मुन्धुमविज्ञा पासुङ (पुर्खा), चाम्लिङ भाषाको विकास र अध्ययनमा सहयोग गर्ने गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष एबं नगरपालिकाका निवर्तमान मेयर र उपमेयर, निवर्तमान वडाध्यक्षलाई सम्मान गरिएको छ । चाम्लिङ भाषाको विकास र प्रवद्र्धनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सहयोग गरेको खाम्बातिमले जनाएको छ ।
सम्मान तथा भाषिक कार्ययोजना निर्माण भेला समापनपछि अतिथिलाई नेर्पाको साकेला थान, मझुवागढी र तुवाचुङमा घुमफिर गराइने खाम्बातिमकका खोटेहाङ गाउँपालिका समिति अध्यक्ष इन्द्र नारथुंगेले बताए ।

प्रतिक्रिया