शुक्रबार, वैशाख १२, २०८२

ओझेलमा रानाथारुको होली

नेपालखोज २०७९ फागुन २२ गते १७:११

कञ्चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरणअन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली मनाउने प्रचलन रहेको छ ।

फागुपूर्णिमापछि सो समुदायमा होलीको निकै रौनक छाउँने गर्दछ । गाउँभरिका महिला पुरुष वृद्धदेखि बालकसम्म सबैजना रातदिन होली खेल्छन् । माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । माघ पूर्णिमादेखि फागन पूर्णिमासम्म जीउँदो होली र फागुन पूर्णिमापछि आठ दिनसम्म मृत होली खेल्ले परम्परा रहेपनि पछिल्ला वर्षमा होली खेलिने समय छोट्टिदै गएको राना समुदायका अगुवा बताउँछन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का साहेब रानाले होली खेल्ले समय छोट्टिदै गएको बताए । ‘परम्परा अनुसार यो समयमा हाम्रो समुदायमा होलीको रौनक हुनुपर्ने हो ।’ उनले भने, ‘३८ दिनसम्म लगातार दुई चरणमा खेलिने होली अन्य समुदायको जस्तै तीनरचार दिनमा समिति हुने गरेको छ ।’ उनले पछिल्लो पुस्ताले अन्य समुदायको सिको गर्दै दुईरतीन दिनमात्रै होली खेलिने गरेको बताए ।

‘पहिला रातभर पनि महिना दिनसम्म होली खेलिन्थ्यो अहिले त्यो रौनक देखिदैन ।’ उनले भने, ‘अहिले त होली गाउने मान्छे पाउनै मुस्किल छ ।’ माघ पूर्णिमाका दिन गाउँका दाजुभाइ गुइँठा, काठ दाउरा, तोरीको सुकेको डाँठ एकै ठाउँमा थुपार्छन् । गाउँको चौकीदारले घर घरबाट ल्याएको पूजा सामग्रीसहित यसरी होली राख्ने परम्परागत चलनलाई रानाथारु भाषामा ‘होरी धरन’ भनिन्छ । यसको उद्देश्य होलीलाई मथुराबाट आफ्नो गाउँसम्म बोलाउने वा निमन्त्रणा गर्ने हो भन्ने जनविश्वास रहेको सो समुदायका जानकारहरु बताउँछन ।

यसरी होलीको प्रतीक स्थापना गर्ने क्रममा र गरिसकेपछि उपस्थित सबै मिलेर ढोल बजाउने, गीत गाउँदै नाच्ने प्रचलन रहिआएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनाका धनवहादुर रानाले होली पर्वको समय छोटिँदै गएपनि युवापुस्ता संस्कृति संरक्षणमा लागेको बताए ।

‘परम्परा अनुसार माघ पूर्णिमादेखि हरेक दिन बेलुकी खाना खाएर फागुपूर्णमासम्म जिउँदो होली र त्यसपछिका आठ दिन मृत होली खेल्छौँ ।’ उनले भने, ‘हामी युवा हाम्रा परम्पराको संस्कृति संरक्षणमा लागेका छौँ ।’ उनले युवा पढाइ र रोजगारीका लागि अन्यन्त्र रहेको र बुढापाकाले होली खेल्न नसक्दा होली पर्वको समय छोटिएको बताए ।

सो समुदायले होली पर्वमा सु–स्वास्थ्य र लामो आयुका लागि आर्शीवाद माग्ने चलन रहेको भीमदत्त–१४ का वसन्ती रानाले बताए । ‘पहिलाको जस्तो रौनक अहिले हुँदैन विस्तारै कमहुँदै गएको छ ।’ उनले भने,’पहिला हामी हाम्रो परम्परागत पहिरन लगाएर होली पर्व महिनौँ खेल्थ्या अहिले त्यस्तो रौनक छैन ।’

महिलाहरूले घगरिया, अङिया, फतुई (सिक्काको माला) र पुरुषले घगिया पहाना, तुल फेरा (परम्परागत पहिरन) लगाएर रातभरि होली खेल्ने प्रचलन छ । पछिल्लो समय डिस्को डिजेमा मात्रै सीमित हुने र होली खेल्ने समय पनि छोटिँदै गएकोप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् । सो समुदायका जानकारका अनुसार हिरण्यकश्यपले विष्णु भगवानका भक्त आफ्नो छोरा प्रल्हादलाई अग्निमा नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकासँग आफ्नो काखमा राखेर जलाउने भनी आदेश दिएका थिए ।

प्रल्हादले पनि आफ्नो बुबाको कुरा नकाटी फुपू होलिकाको काखमा बसे । जब होलिकालाई आगो लगाइयो, त्यस समय होलिका जलेर राख भइन् भने प्रल्हादलाई अग्निले केही गर्न सकेन । यस दिनदेखि असत्यमाथि सत्यको विजय भयो भनेर होली पर्व मनाउन सुरुआत भएको जनाइएको छ । -रासस

प्रतिक्रिया