किराँत सङ्ग्रहालयको काम अन्तिम चरणमा

नेपालखोज २०७९ फागुन २३ गते ७:५१
प्रतीकात्मक तस्बिर

भाेजपुर । किराँत राईको बाहुल्यता रहेको भोजपुरमा सङ्ग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । किराँत राइको संस्कार, संस्कृति तथा आदिम कालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको सङ्ग्रहालय(माङखिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको किराँत राईयायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए ।

कोसी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको रू तीन करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ । भोजपुर नगरपालिका–६ देउरालीमा चार रोपनी नौ आना क्षेत्रफलमा निर्माण भइरहेको तीनतले सभाहलको पहिलो तलामा किराँत सङ्ग्रहालय, दोस्रो तलामा पाटी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमाथि २० फिट अग्लो किराँत राईको विभिन्न संस्कारमा प्रयोग हुने चिन्डो(वाबुक) राखिने उनले बताए । सङ्ग्रहालयलाई विश्वको अनुसन्धान केन्द्रकारुपमा विकास गर्ने उनको भनाइ छ । ‘किराँत राईले परापूर्व कालमा प्रयोग गर्ने सामग्रीको सङ्ग्रह गर्ने उद्देश्यले यहाँ भवन निर्माण भइरहेको छ, यसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने योजना छ’, राईले भने ।

यस सङ्ग्रहालयले राई समुदायको इतिहास झल्काउनाका साथै किराँत संस्कृतिको रक्षा गर्न योगदान पु¥याउने उनले बताए । किराँत सभ्यताअनुसार अरुण नदी पूर्वलाई पल्लो किराँत र सुनकोसी नदी यताको भागलाई माँझ किराँत भनिने भएकाले निर्माण भइरहेको भवनमाझ किराँतमा पर्ने उनको भनाइ छ । भवनको अवलोकन गर्दै कोशी प्रदेश सांसद सिर्जना राईले आवश्यक संरचना निर्माणका लागि बजेटको कमी हुन नदिने बताए । आफू किराँत राई यायोक्खा भोजपुुरको अध्यक्ष रहँदा भवन निर्माण थालिएको बताउँदै उनले सङ्ग्रहालय निर्माणले किराँत सभ्यताको पहिचान जोगाउन योगदान पु¥याउने धारणा राखे ।

निर्माण तीव्र गतिमा भइरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कार्यलाई गुणस्तरीय बनाउन अनुगमन तथा निरीक्षणसमेत भइरहेको कार्यालयका इञ्जिनीयर रामफुल चौधरीले बताए । ‘भवनको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने रू दुई करोड ६४ लाख भुक्तानी भइसकेको छ’, उनले भने । सङ्ग्रहायसहितको सभाहल सम्पन्न भएपछि किराँत संस्कृतिको संरक्षण हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटनमासमेत टेवा पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । ‘स्थानीय सरकारले विभिन्न जातजाति, धर्म, संस्कार संकृतिको संरक्षणका लागि काम गरिरहेका छौँ’, उनले भने । सभाहलको शिलान्यास २०७७ कात्तिक २३ गते कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

प्रतिक्रिया