शनिबार, वैशाख २२, २०८१

चार दिनमा ‘छक्कापञ्जा ४’को कलेक्सन कति ?

नेपालखोज २०७९ फागुन २३ गते १३:१०

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्मले प्रदर्शनको चार दिनसम्म ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो ।

आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो । वितरण कम्पनी ब्यांकटेसले चार दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको वितरक मनोज राठीले बताए ।

मंगलबार तराई–मधेशमा हुने होलीपर्वको बिदामा फिल्मले देशव्यापी ७० लाख र बुधबार नारी दिवसको बिदामा पनि फिल्मले कम्तीमा एक करोड ग्रस गर्ने पक्का छ । यो ट्रेन्ड हेर्दा फिल्मको पहिलो साताको कमाइ आठ करोड हाराहारीमा पुग्ने देखिन्छ । ‘छक्कापञ्जा ४’को यो कुल कमाइमा मल्टिप्लेक्सको हिस्सा ७० प्रतिशत देखिन्छ । काठमाडौंसहित मोफसलका मल्टिप्लेक्स र सिंगल स्क्रिनमा फिल्मले उछाल कमाइ गरिरहेको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । निर्माता तथा अभिनेता गिरीले टिकट नपाइएको भन्दै शो थप्नुपर्ने मागसहितका टेलिफोन आइरहेका बताएका छन् ।

प्रतिक्रिया