मंगलबार, मंसिर १८, २०८१

बाढीपीडितलाई सहयोग गर्न कलाकार एकजुट, भुवनले भने- विपत्तिमा परेकालाई दिल खोलेर सहयोग गरौं

नेपालखोज २०७८ असार ११ गते १४:३३

काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग गर्न राष्ट्रिय स्तरका कलाकारहरु एकजुट भएका छन् । कलाकर्मीहरुले ‘सिन्धु सहयोग कोष’ स्थापना गरी सबैलाई सहयोगको अपिलसमेत गरेका छन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कोषको औपचारिक घोषणाा गरिएको हो । कोषको संयोजकमा वरिष्ठ कलाकार कृष्ण मल्ल, सह-संयोजकमा करिश्मा मानन्धर र कोषाध्यक्षको जिम्मेवारीमा जितु नेपाल (मुन्द्रे) छन् ।

जितु नेपालले कोष स्थापना गरेको पहिलो दिन कलाकारहरुबाटै २२ लाख रुपैयाँ संकलन भएको सामाजिक सन्जाल फेसबुकमार्फत जनाएका छन् । कार्यक्रममा नायक भुवन केसीले बाढीपीडितको सहयोगका लागि एक लाख रुपैयाँ दिने प्रतिबद्धता जनाए । उनले प्राकृतिक विपत्तिमा सहयोग गर्न कसैले पनि कन्जुस्याइँ नगर्न आह्‌वान पनि गरे । उनले भने, ‘विपत्तिमा परेकालाई हामी सबैले दिल खोलेर सहयोग गरौं ।’

हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि एक लाख एक हजार, यस्तै अर्का हास्यकलाकार किरण केसीले व्यक्तिगत रुपमा एक लाख, कोषका संयोजक मल्लले पनि एक लाख एक हजार दिने घोषणा गरे ।

यस्तै हास्यकलाकार तथा कोषका कोषाध्यक्ष जितु नेपालले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हास्यकलाकार किरण केसीले काठमाडौंलाई पानी दिने मेलम्चीलाई सहयोग गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले बाढीपीडितलाई सरकारले कुनै राहत घोषणा नगरेकामा आक्रोश व्यक्त गरे । ‘सबै कलाकर्मी एकजुट भएर सहयोग गर्नकै लागि कोषको स्थापना भएको हो,’ उनले कार्यक्रममा भने ।

प्रतिक्रिया