बैंक तथा लघुवित्तका कर्मचारीलाई सुरक्षा दिन गृहको सर्कुलर

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सर्कुलर जारी गरेको छ ।
पछिल्लो समय बैंक तथा लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो । गएको हप्ता जाजरकोटमा एनआईएसिया लघुवित्तका कर्मचारीलाई किस्ता उठाउन जाने क्रममा कालोमोसो दलेर लखेटेका थिए । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
यद्यपि लघुवित्त र बैंकका २० लाख रुपैयाँका ऋणीलाई मिनाह दिनुपर्ने लगायत माग राखेर मेडिकल व्यापारी झापाका दुर्गा प्रसाईले आन्दोलन चलाइरहेका छन् ।
लघुवित्तले चर्को ब्याज असुलेर ऋणीको उठीवास गराएको भन्दै विप्लव नेतृत्वको नेकपाले पनि कपिलवस्तु लगायत जिल्लामा लघुवित्तका कर्मचारीलाई प्रवेशमा ‘प्रतिबन्ध’ लगाएको घोषणा गरेको छ । ऋणीसम्म पुग्न असुरक्षित भएको जनाउँदै बैंक तथा लघुवित्त संचालहरुले सरकारसँग सुरक्षा माग गर्दै आइरहेका छन् ।
गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दालहाले नै सम्हालिरहेका छन् ।

प्रतिक्रिया