आइतबार, वैशाख १६, २०८१

इलेक्ट्रिक भेईकलका लागि हिरोको नयाँ सम्झौता

नेपालखोज २०७९ फागुन २४ गते १०:४९

काठमाडाैं । हिरो मोटोकर्पले अब जिरो मोटरसाइकलसँगको सहकार्यमा प्रिमियम विद्युतीय बाइकहरु निर्माण गर्ने भएको छ । यसका लागि भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले प्रिमियम विद्युतीय मोटरसाइकल निर्माणमा सहकार्य गर्न अमेरिकी कम्पनी जिरो मोटरसाइकलसँग सम्झौता गरेको छ ।

जिरो मोटरसाइकल क्यालिफोर्नियास्थित इलेक्ट्रिक टु–ह्विलर कम्पनी हो जसले लामो समयदेखि इलेक्ट्रिक टु–ह्विलर निर्माण क्षेत्रमा काम गरिरहेको छ । जिरो इलेक्ट्रिक मोटरसाइकल र पावरट्रेन निर्माणका लागि परिचित छ।

सेप्टेम्बर २०२२ मा हिरो मोटोकर्पको बोर्डले क्यालिफोर्नियामा रहेको जिरो मोटरसाइकलमा ६० मिलियन अमेरिकी डलरको इक्विटी लगानी स्वीकृत गरेको थियो।

जिरो मोटरसाइकल सन् २००६ मा नासाका पूर्व इन्जिनियर नील साईकीले स्थापना गरेका थिए। यो इलेक्ट्रिक पावरट्रेन्समा विश्वव्यापी अग्रणी मानिन्छ र हाल जिरो एस र एसआर स्ट्रिट बाइक, एफएक्सएस सुपरमोटो, डीएस र डीएसआर डुअल–स्पोर्ट बाइक, एसआर- एफ र एफएक्स भनिने मोटोक्रस बाइकहरु निर्माण गर्दछ।

हिरो मोटोकर्पले हालै मात्र आफ्नो पहिलो विद्युतीय गाडीका रुपमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नयाँ सम्झौताअन्तर्गत जिरो मोटरसाइकलले इलेक्ट्रिक पावरट्रेन विकास गर्नेछ र हिरो मोटोकर्पको उत्पादन, सोर्सिङ र मार्केटिङको फाइदा उठाउनेछ।

अब यो नयाँ सम्झौता पछि हिरो मोटोकर्पले उत्कृष्ट र अत्याधुनिक प्रविधिले सुसज्जित विद्युतीय सवारीसाधनहरु निर्माण गर्नेछ जसको बजार यो सम्पूर्ण विश्व हुनेछ ।

प्रतिक्रिया