बिहीबार, वैशाख २०, २०८१

मृत्यु र जीवनको चक्र

कृष्ण कॅंडेल २०७९ फागुन २५ गते ७:५७

सन् २०२३ को फेब्रुअरी ६ मा टर्कीमा ठुलो भूकम्प गयो । हजारौँ मानिसहरूको ज्यान गयो । त्यसो त २०७२ सालमा गएको भूकम्पले नेपालमै पनि धेरै मानिसहरूको ईहलिला समाप्त भएको थियो । यो पंतिकारको पनि सात दिनसम्म चौरमा त्रिपाल मुनीको बास भएको थियो । यसो सम्झिँदा जिन्दगी नाफामा बाँचिएको रहेछ जस्तो लाग्छ । नाफामा बाँचेको जिन्दगीलाई सत्कर्ममा लगाउने प्रयास जारी छ । प्रसङ्ग टर्कीमा गएको भूकम्पको थियो ।

विश्व सञ्चार माध्यमले अत्यन्त कारुणिक समाचार सम्प्रेषण गर्ने क्रममा एउटा त्यस्तो तस्बिरमा आँखा पुग्यो जुन तस्बिरले मेरो ह्रदयमा कम्पन ल्यायो । एउटी सानी नानीले आफ्नो भाइलाई काखमा राखेर बा आमाको मृत्युलाई “शोक”को ध्वनि सुनाउँदै थिई  । झुक्याउदो रहेछ मृत्युले । कहिले भूकम्पको नाममा, कहिले सुनामीको नाममा, कहिले भोकमरीको नाममा, कहिले कोभिडका नाममा, के के हो के के ? जीवन त चर्खा रहेछ । मृत्युसँग पौंठाजोरी खेल्दै लड्दै उठ्दै गन्तव्य तय गरिरहन्छ । जीवन सँगै मृत्यु पनि साथमा आउँछ । र यो शाश्वत सत्य हो भन्ने कुराको बोध नहुँदा हामीले दुख झेलिरहेका छौँ ।

रजनिशले भनेका छन् – जीवन त उत्सव हो । मृत्यु झन् महाउत्सव हो । जीवनको रहस्य जीवन स्वयम होइन मृत्यु हो । जीवन मृत्यु तर्फको तीर्थयात्रा हो । हाम्रो भौतिक शरीर र आत्मामा भिन्नता छ । गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ –नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति मारूतः।। अर्थात् यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्र्याउन सकिन्छ, न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ, न हावाद्वारा नै सुकाउन सकिन्छ ।

यो शरीर ढले पनि आत्मा अजर छ अमर छ भन्छ गीता । यो आत्मा सधैँ रहिरहन्छ, सर्व व्यापक छ, अपरिवर्तनशील छ अचल छ । तर पनि हामी भौतिक शरीरकै पछि भागी रहेका छौँ । हाम्रो चेतनाको बिर्को अझै खुल्न सकेको छैन । हामी मन्दिर, मस्जिद, गिर्जाघर जहाँ जहाँ धाए पनि हामी मध्ये धेरैले आफू र आफ्नो परिवारको सुख समृद्धिको मात्र कामना गरेर हात ताप्छौँ । यो जगतको भलो होस सबैको कल्याण होस भन्ने कमै हुन्छौ । जब सम्म हामीमा इश्र्या भाव रहिरहन्छ, तब सम्म मृत्युले पनि खित्का छाडेर हाँसिरहन्छ । किनभने जीवन त कर्कलाको पानी हो ।

एक छिन अघि छ, निमेष भरमै छैन । हामी अजम्मरी छैनौँ । जन्म सँगसँगै मृत्यु आएको छ भन्ने जान्दा जान्दै पनि हामीले त्यसलाई नजर अन्दाज गरिरहेका छौँ । हाम्रो व्यवहार कहिल्यै मर्न पर्दैन जस्तो किन गरिरहन्छौँ ? बाँचुन्जेल सर्वजन हिताय भन्ने भावनालाई मनन गरेर जीवनको रथ अगाडी बढाउँदा उत्तम हुन्छ । सबैको कल्याण होस, सबैको मंगलहोस भन्ने भावना सवैमा जागृत हुन सके मात्र विश्वमा शान्ति फैलिने छ । मनमा शान्ति लिएर आफ्ना सबै कर्महरू गर्दै जानु नै श्रेयस्कर हुन्छ । भगवान् श्रीकृष्णले अर्जुनलाई सम्झाउँदा यसो पनि भन्नु भएको छ –कर्म गर्दै जाऊ फलको आशा नगर, फल त तिमीलाई अवश्य प्राप्त हुनेछ ।

मृत्यु त नियमित आकस्मिकता हो । यसलाई न कसैले टारेर टार्न सक्छ न आयु लम्ब्याउन सक्छ । जुन कुरो शाश्वत सत्य छ । मान्छे त्यसलाई स्विकार्न हिचकिचाउँछ । जुन दिन मृत्युले धावा बोल्छ त्यसपछि झसङ्ग हुन्छ, त्यति वेला समय घर्की सकेको हुनेछ । किन सत्कर्मको बाटो रोजिएन ? किन लोभ र मोहमा मात्र लिप्त भइयो भनेर । वर्तमान टेक्नो युगमा त मान्छेले आफू अजम्मरी ठान्ने गर्दछ । त्यसैले साना कुरामा पारिवारिक द्वन्द्व, सामाजिक द्वन्द्व, राजनीतिक द्वन्द्व तीव्र रूपमा हुने गरेको छ । हुने खाने र हुँदा खाने बिचको खाडल ठुलो हुदैँ गएकाले पनि पाइला पाइलामा द्वन्द्व छ । त्यही द्वन्द्व नै मृत्युको कारण बन्छ । तर आध्यात्मिक बाटोमा हिंडनेहरूमा संयमितता अलि बढी हुन्छ । उनीहरू भरिसक्य द्वन्द्वबाट टाढै रहन रुचाउँछन् । द्वन्द्वलाई मृत्युको कारण बनाउन चाहन्न किनभने जीवन छ र मृत्यु छ । जन्म मृत्यु प्रकृतिको नियमित साइकल हो । साइकल ढल्ला कि भनेर चिन्ता गर्ने होइन, सके परोपकारमा मन लगाउने नसके कसैको पनि कुभलो नचिताउने ।

प्रतिक्रिया