२९ प्रतिशत महिलाले सार्वजनिक स्थानमा टिजिङको सामना गर्छन्

काठमाडाैं । एक सर्वेक्षण अनुसार भारतमा २९ प्रतिशत महिलाले रेल, रेल स्टेशन, सार्वजनिक स्थान तथा सडकमा दुर्व्यवहार वा यौन उत्पीडनको अनुभव गरेका छन् । स्थानीय सर्कलको सर्वेक्षणमा २९ प्रतिशत महिलाले सार्वजनिक स्थानमा इभटिजिङ र यौन उत्पीडनको सामना गरेको दाबी गरेको छ । ९ प्रतिशत महिलाले आफू वा आफ्नो परिवारका अन्य सदस्यले एक पटकभन्दा बढी त्यस्तो अनुभव गरेको बताए ।
रेल स्टेशन, सार्वजनिक स्थान तथा सडकहरू त्यस्ता स्थान हुन् जहाँ भारतीय महिलाहरूले सबैभन्दा बढि यौन दुर्व्यवहारको सामना गर्नुपर्छ । सर्वेक्षणमा संलग्न १७ प्रतिशत महिलाले स्थानीय ट्रेन, मेट्रो वा त्यसका स्टेशनहरूमा त्यस्तो भएको बताए । २० प्रतिशतले भीड वा जमघटमा त्यस्ता घटना भएको बताएका छन् । ७ प्रतिशत महिलाले धार्मिकस्थलमा यस्ता घटनाले आफूलाई दुःख दिएको बताए भने १० प्रतिशतले बजारमा त्यस्तो घटना भएको बताए।
यौन दुर्व्यवहारको सामना गर्ने २३ प्रतिशत महिलाले मात्र प्रहरीमा एफआईआर वा उजुरी दर्ता गराएको बताए । सर्वेक्षणमा १५ प्रतिशत महिलाले प्रहरीले उजुरी दर्ता नगरेको वा कुनै कारबाही नगरेको दाबी गरेको छ । २३ प्रतिशतले आफूले कुनै कारबाही नगरेको बताएका छन् भने १५ प्रतिशतले एफआईआर दर्ता नगराउने निर्णय गरेका छन् । लोकल सर्कलले यो सर्वेक्षणका लागि भारतका ३ सय १९ जिल्लाका १४ हजार नागरिकबाट २४,००० भन्दा बढी प्रतिक्रिया प्राप्त गरेको र त्यसका आधारमा नतिजा सार्वजनिक गरेको बताएको छ ।
भारतको राष्ट्रिय अपराध ब्यूरोले २०१९ मा महिलाविरुद्ध दर्ता भएका ४ लाख मुद्दामध्ये ३२,०३३ बलात्कारसँग सम्बन्धित रहेको बताएको थियो । प्रायः बलात्कारको सिकार भएका महिलाहरु डरले उजुरी गर्दैनन् ।गैरसरकारी संस्था अक्सफामको एक प्रतिवेदनमा भारतमा हेल्पलाइन केन्द्रहरू, आपतकालीन प्रतिक्रिया सेवाहरू तथा लैङ्गिक-संवेदनशीलता प्रशिक्षणका लागि छुट्याइएको रकम प्रयोग नभएको बताईएको छ । अक्सफामका अनुसार कोषमा पहिले नै कम विनियोजन भएकाले त्यसको प्रयोग हुन सकेको छैन ।
प्रतिक्रिया