युरोपका दुई करोड बालबालिका गरिबीको चपेटामा

काठमाडाैं । गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको पछिल्लो प्रतिवेदनअनुसार युरोपेली युनियनका देशहरूमा करिब २ करोड बालबालिका गरिबीमा बाँचिरहेका छन् । प्रतिवेदनले युरोपमा चारमध्ये एक बालबालिका गरिबीमा फस्ने जोखिममा रहेको उल्लेख गरेको छ । आधारभूत आवश्यकतामा हुने खर्चमा भएको वृद्धि तथा कोभिड–१९ को महामारी गरिबी बढ्नुका दुई मुख्य कारण हुन् ।
जर्मनीका बारेमा यो रिपोर्ट भन्छ- २०२१ मा २० लाख भन्दा बढी बालबालिका गरिबीमा बाँचिरहेका थिए। जर्मनीमा बाल गरिबी र सामाजिक असमानताका लागि एड्भोकेसी प्रबन्धक एरिक ग्रोससले गरिबीमा भएको वृद्धिको तथ्याङ्क “धेरै चिन्ताजनक” रहेको बताए । “जर्मनीमा पाँच मध्ये एक बालबालिका गरिबीमा बाँचिरहेका छन् । ग्रोससले जर्मन सरकारलाई बाल गरिबी अन्त्य गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह समेत गरेका छन् ।
सेभ द चिल्ड्रेनको प्रतिवेदनका अनुसार ईयु देशहरूमा गरिबी तथा सामाजिक बहिष्करणको जोखिममा रहेका बालबालिकाको सबैभन्दा बढी दर रोमानियामा ४१.५ प्रतिशत छ भने स्पेनमा ३३.४ प्रतिशत छ । जर्मनीमा यो दर २३.५ प्रतिशत छ जुन युरोपको औसत दरभन्दा केही कम हो। फिनल्याण्डमा बाल गरिबीको सबैभन्दा कम दर १३.२ प्रतिशत छ भने डेनमार्कमा १४ प्रतिशत छ।
गत वर्ष अक्टोबर र डिसेम्बरको बीचमा १४ वटा ईयु देशले उपलब्ध गराएको तथ्याङ्कका आधारमा सहायता एजेन्सीहरूले यो रिपोर्ट तयार गरेका हुन । युक्रेनमा रुसको आक्रमणका कारण अत्यावश्यक वस्तुहरूको मूल्य बढेको र गरिबहरूको अवस्था बिग्रिएको यो रिपोर्टमा उल्लेख छ । यसबाट मध्यम वर्ग विशेष प्रभावित भएको छ ।
सेभ द चिल्ड्रेन प्रतिवेदनले शरणार्थी तथा कागजपत्र नभएका व्यक्तिहरू यस्तो अवस्थाबाट सबैभन्दा बढी प्रभावित भएको बताएको छ । गरिबीको जोखिममा ती बालबालिकाहरू छन् जो आफ्ना आमाबाबु मध्ये एकसँग बस्छन्, जसको परिवार ठूलो छ र आर्थिक रूपमा स्थिर छैन, जो असक्षम छन् वा जो जातीय अल्पसंख्यक छन् ।
सेभ द चिल्ड्रेनका युरोपेली निर्देशक यल्भा स्पर्लिङ भन्छिन्- कुनै पनि बालबालिका भोकै विद्यालय जानु हुँदैन, चिसो घरमा बस्नु हुँदैन र उनिहरुले आमाको जागिरको चिन्ता गर्नु हुँदैन। उनी भन्छिन्, “तर युरोपमा अझै पनि धेरै परिवार खाना, तताउने प्रणालीबाट वञ्चित छन् । धेरै बालबालिका सँग हुर्कन र राम्रो जीवन बिताउन आवश्यक पर्ने आधारभूत आवश्यकताहरू छैनन्।” उनले बाल संरक्षणलाई गति दिन तथा वर्तमान र भावी पुस्तामा युरोपका धेरै संकटको प्रभाव कम गर्न साहसी निर्णय र रणनीतिक कोष आवश्यक रहेको बताएकि छिन ।
एएफपी
प्रतिक्रिया