विभिन्न आपराधिक क्रियाकलापका ११ आरोपी पक्राउ

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ७४ वर्षीय जितबहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अनिल पुन, २ जना १७ वर्षीय किशोर, २ जना १६ वर्षीय किशोर र १४ वर्षीय किशोर रहेका छन् ।
पूर्व रिसईबीको कारण उनीहरुको कुटपिटबाट गम्भीर घाइते भएका बुढाको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरको हो ।
आफ्नै श्रीमती २१ वर्षीया ममता नेपालीको हत्या गरेको अभियोगमा जुम्लाको तिला गाउँपालिका-४ नुवाकोट बस्ने ४७ वर्षीय आइते सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । आइतेले ममता नेपालीलाई हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुंडारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका १७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्यायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उता, बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका(१० बस्ने ५६ वर्षीय दशै मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया