आइतबार, पुष ६, २०८२

१३ खर्ब ८३ अर्ब ३३ करोडको सञ्चिती

नेपालखोज २०७९ फागुन २८ गते १५:०३

काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिती बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदन अनुसार विदेशी मुद्राको सञ्चिती २०७९ असारको तुलनामा बढेको हो । सो अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव आठ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौं अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १० दशमलव दुई प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६ दशमलव दुई प्रतिशतले वृद्धि भई १२ खर्ब २८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था अर्थात नेपाल राष्ट्र बैंक बाहेकका संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा दुई दशमलव छ प्रतिशतले कमी आई एक खर्ब ५५ अर्ब २८ करोड रुपैयाँ कायम भएको छ । २०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव चार प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव आठ महिनाको वस्तु आयात र नौं दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया