विराट राजा दरबार संग्रहालय निर्माण

काठमाडाैं । नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा. आशबहादुर तामाङले विराटनगरपालिकाका प्रमुख नागेश कोइरालालाई सङ्ग्रहालयको साँचो हस्तान्तरण गर्नुभएको हो । नेपाली सेनाको भैरव गण मोरङले विराटनगर–१८ भेडियारीस्थित ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ निर्माण गरेको हो ।
ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले रू १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा सङ्ग्रहालय निर्माण गरिएको हो । कुल एक कठ्ठा क्षेत्रफलमा विसं २०७९ कात्तिक २१ देखि सुरु भएको निर्माण चार महिनामा पूरा भएको हो । सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्रा राखिएका छन् ।
महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किबदन्ती छ । पाँच पाण्डव र उनीहरुको श्रीमती द्रौपदी गुप्तबासको समयमा नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डमा संरक्षण गरिदै आएको छ । विसं २०२७ सालमा पुरातत्व विभागले यस स्थानमा उत्खनन गरी ४० बटा प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा फेला पारेको थियो ।
त्यसपछि यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो । दरबार क्षेत्रमा सङ्ग्रहालय भवन निर्माण गर्नाले जिल्लाको धार्मिक महत्व वृद्धि गरी धार्मिक पर्यटन आगमनमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ । नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले यो ऐतिहासिक सङ्ग्रहालय स्थानीय जनताको सम्पत्ति भएको कुरा बताउँदै यसको संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले नेपाली सेनाले सामाजिक उत्तरीयदायित्व अन्तर्गत निर्माण गरेको यसको सुरक्षा गर्न स्थानीय समक्ष आग्रह गर्दै इतिहास हाम्रो पौरख भएकोले यसप्रति गर्व गर्नुपर्नेमा जोड दिए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दरबार क्षेत्रमा रहेको एक बिघा १० धुर जग्गाको संरक्षण गरी धार्मिक एवं सांस्कृतिक पर्यटकलाई आकर्षित गर्ने जानकारी दिएका छन् । अहिले यो दरबार क्षेत्रको वृहत्तर विकासका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्ने धेरैको सुझाव छ ।
प्रतिक्रिया