शनिबार, वैशाख ८, २०८१

‘ए’ डिभिजन लिग : मनाङ र आर्मी विजयी, पुलिस र एनआरटीले बराबरी खेले

नेपालखोज २०७९ चैत ४ गते २२:४०

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा मनाङले एपीएफलाई २–१ गोलले हरायो।

मनाङको जितमा कमल थापा र सेदजामोलले गोल गरे । खेलमा अग्रता भने अर्मान्ड बिडोमको गोलमार्फत् एपीएफले लिएको थियो । जितपछि मनाङ ११ अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हरायो ।

खेलको छैटौँ मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाए पनि २४औँ मिनेटमा गिल्प्सजङ्ग कार्कीले र इन्जुरी समयमा दिपक गुरुङले गोल गरेर आर्मीलाई जिताए । तालिकामा आर्मीको ८ अङ्क र फ्रेन्ड्सको ४ अङ्क भएको छ ।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा पुलिस र एनआरटीले १–१ गोलको बराबरी खेलेका हुन् ।

एनआरटीका सञ्जीव विष्ट र पुलिसका प्रताप गुरुङले गोल गरे । बराबरीसँगै पुलिसले पाँचौँ खेलमा बल्ल खाता खोलेको छ । एनआरटीको दुई अङ्क छ ।

प्रतिक्रिया