शनिबार, वैशाख ८, २०८१

सबैभन्दा धेरै ब्यक्तिगत सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण गर्ने केशरशम्शेर राणा

सुनिल उलक २०७९ चैत ५ गते ९:०२

केशरशम्शेर राणा श्री ३ चन्द्रशम्शेरका साहिँलो छोरा हुन । अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेर र ७ सालको मन्त्री मण्डलमा रक्षा मन्त्री रहेका बबरशम्शेर उनका दुई दाजुहरु हुन् । प्रजातन्त्र पछि उनि नेपाली सेनाको पहिलो सेनापति बनेका थिए ।

चन्द्रशम्शेरको छोरा भएको हुँदा बाबु प्रधानमन्त्री बन्नासाथ उनलाई केवल ९ वर्षको उमेरमा नै सेनाको कर्णेल पद दिइएको थियो। सय वर्ष अगाडि बि.सं. १९७९ मा काठमाडौ म्यूनिसिपलिटी गठन भएपछि पहिलो मेयरको रुपमा केशर शम्शेरले ८ वर्ष बिताए । यसको साथै राष्ट्रिय संग्रहालयको डाइरेक्टर, पुरातत्व बिभागको डाइरेक्टरका साथै बिदेश बिभागमा पनि रहे । बिदेश मन्त्रीको रुपमा बेलायती राजा जर्ज छैठौको शुभराज्याभिषेकमा पनि सहभागी भए । साथै बेलायतका लागी तथा अमेरिकाका लागी पहिलो राजदूतको रुपमा पनि सेवा गरेका थिए ।

पुरातत्वमा रहदा लुम्बिनीको अन्वेषण गर्न लगाएका थिए । भने सानो गोग्राहा बजारलाई बिराटनगर शहरको रुपमा स्थापना गर्न पनि उनकै भूमिका थियो । प्रजातन्त्र पछि सेना प्रमुखको रुपमा रहे भने २००८ सालको मन्त्रीमण्डलमा रक्षा मन्त्री बने । २००९ को साउन ३० गते राजा त्रिभुवनले आफ्ना भेना केशर शम्शेरको नेतृत्वमा परामर्शदात्री सरकार गठन गरेका थिए । यसमा रक्षा तथा अर्थ मन्त्रालयको पनि जिम्मा दिएका थिए । यिनलाई राणाकालका बुद्धिजीवीमा गनिन्छ । राणा परिवारमै पहिलो मेट्रिक (हालको एसईई) पास चन्द्रशम्शेरको छोरा हुँदा यिनलाई पढ्ने अवसर दिईयो । दरवार हाईस्कूलबाट मेट्रिक पास गरेपछि भारतमा कानुन विषयको अध्ययनको लागी गएका थिए ।

केवल १६ वर्षको उमेरमा बाबु चन्द्रशम्शेरको साथ बेलायत भ्रमणमा जाने अवसर पाएका थिए । बेलायतबाट फर्कदा चन्द्रशम्शेरले निकै कितावहरु पनि बोकेर आएका थिए । यहि कितावहरु राखेर केशर शम्शेरले निजी पुस्तकालय बनाए । साथै यहि भ्रमणको समय साना केशर शम्शेर राजा एडवर्ड सातौको बगैचा घुम्न गएका थिए । बगैचाले उनको मन यसरी बहकियो कि नेपाल आएर बुबालाई बगैचा बनाउन कर गरे । तर बुबाले उनको कुरा पुरा गरेनन् । अन्तत १९७८ मा आफ्नै पैसा खर्चेर बगैचा बनाएरै छाडे । हुन त रोमन लेखक मार्कस ट्युलिसको भनाइ नै छ, “यदि तपाइसंग सुन्दर बगैचा र पुस्तकालय छ भने तपाइले खोजेको सबै कुराहरु छ” । नभन्दै केशर शम्शेरसंग दुवै थियो । तसर्थ उनि सुखी थिए । उनले जीवन सधै नेपाल र नेपाल सरकारको लागी नै दिए ।

सबै राणाहरुको नियतमा खोट छैन जसरी जनताले राणाहरु प्रति सोच्ने गर्दछन् । केशर शम्शेरले आफ्नो निजी दरवार केशरमहल, स्वप्न बगैचा, केशर पुस्तकालय तथा यसले चर्चेको ३४ रोपनी जग्गा आफ्नो मृत्यु पछि नेपाल सरकारलाई दिने इच्छा गरेका थिए । २०२१ जेठ २५ मा उनको निधन पछि उनको श्रीमती कृष्णचन्द्र देवीले नेपाल सरकारलाई सम्पूर्ण सम्पती हस्तान्तरण गरिदिए । अहिले सम्मको इतिहासमा सबैभन्दा बढी मुल्यको ब्यक्तिगत सम्पति सरकारलाई हस्तान्तरण गर्नेमा केशर शम्शेर राणा (श्रीमती कृष्णचन्द्र देवी राणा) नै हुन् ।

तस्विरमा केशर शम्शेरको साथमा नेपाल सरकारलाई आफ्ना सम्पती अर्पण गर्ने कान्छी श्रीमती कृष्णचन्द्र देवी आफ्नो ठूली छोरी इन्दिरा राज्य लक्ष्मी देवीको साथ देख्न सकिन्छ । यि सानी नानीको पछि राजा विरेन्द्रका एडिसी शान्त कुमार मल्लसंग बिबाह भएको थियो । यो तस्विर अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा खिचिएको थियो ।

केशर शम्शेरको पहिलो बिबाह केवल १३ वर्षको उमेरमा बि.सं.१९६१ मा राजा त्रिभुवनको दिदी लक्ष्मी राज्य दिव्यश्वरी शाहको साथ भएको थियो भने दोश्रो बिबाह कृष्णचन्द्र देवीको साथ ५१ वर्षको उमेरमा भएको थियो ।

केशर शम्शेरका सन्ततीहरुमा केही चर्चित नाम नाति गोरख शम्शेर स्वर्गिय युवराज्ञी श्रुतीका श्रीमान, कानुन ब्यबसायी लोकभक्त राणा (तस्विरमा देखिएकी नानीको भाइ) छोरा हुन भने उनकी एक मात्र नातिनी गरिमा राणा २०५१ को एसएलसी टपर हुन । उनको एक समय युवराज दिपेन्द्रसंग बिबाहको कुरा चलेको थियो, साथै गरिमाकी छोरी गौरिका सिंह दक्षिण एशियाली खेलमा सबैभन्दा बढी स्वर्ण पदक विजेता हुन ।

प्रतिक्रिया