सोमबार, वैशाख २९, २०८२

धर्म सभामा भारतलाई हिन्दू राष्ट्र बनाउने संकल्प गुन्जियो

नेपालखोज २०७९ चैत ५ गते २०:५२

विश्व हिन्दू परिषदद्वारा रायपुरमा आयोजित ‘हिन्दू संकल्प धर्म सभा’मा भारतलाई हिन्दू राष्ट्र बनाउने प्रस्ताव पारित गरिएको छ । उक्त भेलामा हिन्दू साधुहरूले धर्म परिवर्तन रोक्न आह्वान गर्दै हिन्दूहरूले मनमा शास्त्र र शरीरमा शस्त्र बोकेर अघि बढे भारतलाई हिन्दू राष्ट्र बन्न कसैले रोक्न नसक्ने बताए ।

भारतलाई हिन्दू राष्ट्र बनाउने संकल्पका साथ छत्तीसगढका विभिन्न स्थानबाट विगत एक महिनादेखि निस्किएको विश्व हिन्दू परिषदको नेतृत्वको सन्त तथा द्रष्टाको यात्रा आइतबार रायपुरमा समापन भएको छ । समापनका अवसरमा आयोजित भेलामा करिब ४५०० किलोमिटरको यो यात्राले गाउँ–गाउँमा हिन्दू स्वाभिमान र सामाजिक सदभाव बढाउने काम गरेको दाबी गरिएको थियो ।

बैठकको अध्यक्षता गर्दै जुना अखाडाका आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरीले विश्वभरको आर्थिक मन्दी र विभिन्न किसिमका विकृतिलाई भारतले मात्रै रोक्न सक्ने दाबी गरे । उनले भने – जुन दिन हिन्दुहरु कट्टर हुनेछन्, त्यस दिन विश्वमा शान्ति आउनेछ ।

भेलालाई सम्बोधन गर्दै केही साधुले – भारतिय संविधान प्रति हाम्रो आस्था छ तर आपतकालमा संविधानको प्रस्तावनामा थपिएको धर्मनिरपेक्षता र समाजवादलाई नमान्ने कुरा बताए । साधुहरुले संविधानमा भएको उक्त संशोधन खारेज गरिनुपर्ने बताए ।

केही वर्षयता धर्म परिवर्तनको क्रम बढेकोमा साधुहरुले चिन्ता समेत जनाए । ‘हिन्दू संकल्प धर्म सभा’ को यो मञ्चमा सयौं सन्त र अन्य वक्ताहरू उपस्थित थिए।

प्रतिक्रिया