बिहीबार, असार ५, २०८२

प्रधानमन्त्रीलाई कुन-कुन दलले दिँदैछन् विश्वासको मत

नेपालखोज २०७९ चैत ६ गते ११:११

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ११ राजनीतिक दलले विश्वासको मत दिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

१० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन् । गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ ।

तर नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः यी दल विपक्षमा रहने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दोस्रो पटक विश्वासको मत लिँदै छन् । नेकपा एमाले, रास्वपा र राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।

प्रतिक्रिया