शुक्रबार, वैशाख १४, २०८१

प्रकृति, संस्कृति र संगतले सृजना बनाउँछ : एकनारायण भण्डारी

नेपालखोज २०७९ चैत ६ गते ११:२७

काठमाडौं । एकनारायण भण्डारी ख्याति कमाएका गीतकार तथा संगीतकार हुन् । उनले केही गीत गाएका पनि छन् । स्याङजामा जन्मे हुकेका उनको अलि बढी रसिक गीतकारको परिचय बनेको छ । चाहे लोक, चाहे फिल्मी वा आधुनिक विधामा चलाइएका कलम र सृजित अधिकांश सृजना हिट छन् ।

उनको लेखनशैली रुचाउनेहरु एकनारायणले कसरी गीत लेख्छन् भन्ने कौतुहुलता पक्कै राख्छन् । पछिल्लो समय एक टेलिभिजन अन्तर्वार्तामा उनले सृजनाका केही रहस्य खोलेका छन् । प्रस्तोताले राखेका प्रश्नमा विनम्र जवाफ फर्काउदै उनले प्रकृति, संस्कृति र संगतले सृजना बन्ने बताएका छन् । उनले भने, ‘लेखक जति एक्लो भयो, उति नै सृजना मजबुद बन्दै जान्छ । लेखन विधा अन्य जस्तो समूहमा हुदैँन् ।’

गीत लेख्ने तरिकाको बारेमा बताउँदै भण्डारी भन्छन्, ‘पहिलो तरिका भनेको नयाँ विषयवस्तु छनौट गर्ने, अर्को भनेको चलनचल्तीकै विषयलाई नयाँ ढुंगले प्रस्तुत गर्ने र तेस्रो तरिका भनेको पहिलो र दोस्रो तरिकाको मिश्रण गर्दा उत्कृष्ट सृजना दिन सकिन्छ भन्ने लाग्छ ।’ उनले थपे, ‘कलाकारले समस्यालाई सदुपयोग गर्ने हो । मानौँ, तपाइले चोट दिनु भयो भने मैले बदला लिने होइन । चोटलाई गीत बनाएर त्यसमा मजा लिने हो ।’

कुनैपनि भोगाइ, परिस्थिति र अनुभवले कहीँ न कहीँ गर्भधारण गर्ने उनले बताए । उनी भन्छन्, ‘अनवरत पानी बगिरहने खोलीमा लेउ लाग्दोरैछ भन्ने जानेपछि मैले ‘हे आमा रुँदारुँदै आँखैमा लेउ लाग्यो’भन्ने गीत लेखेँ । मैले कहिल्यै पनि डायरी अघिल्तीर राखेर सृजनामा घोत्लिन्न ।’

प्रतिक्रिया