ह्याप्पीनेस इण्डेक्समा नेपाल ७८औँ स्थानमा

काठमाडौं । इन्टरनेशनल ‘ह्याप्पीनेस डे’ का अवसरमा हिजो जारी गरिएको ह्याप्पिनेस रिपोर्टमा नेपाल ७८ औँ स्थानमा छ । यो रिपोर्टमा फिनल्याण्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ । फिनल्यान्डले लगातार छैटौं पटक पहिलो स्थान हासिल गरेको हो ।
यो सुचिमा सबैभन्दा खराब अवस्था अफगानिस्तानको छ । अफगानिस्तान सबैभन्दा तल्लो स्थान अर्थात १३७ औं नम्बरमा छ । ह्याप्पिनेस ईण्डेक्स – २०२३ अनुसार रुस–युक्रेन विगत एक वर्षदेखि युद्धको अवस्थामा भए पनि रुस ७० औं स्थानमा छ भने युक्रेन ९२ औं स्थानमा छ ।
संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कले विश्व खुशी प्रतिवेदन सार्वजनिक गरेको हो । यो प्रतिवेदन १ सय ५० भन्दा बढी देशका मानिसमा गरिएको विश्वव्यापी सर्वेक्षण तथ्याङ्कका आधारमा जारी गरिएको हो । यसका लागि कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, सामाजिक सहयोग, स्वस्थ जीवनको ज्ञारेन्टी , छनोटको अधिकार , आयु , स्वतन्त्रता, भ्रष्टाचार तथा उदारताका मुद्दा जस्ता बिषयमा केन्द्रीत रहेर तथ्याङ्क सङ्कलन गरिएको थियो ।
यो प्रतिवेदन लन्डन स्कुल अफ इकोनोमिक्सका प्रोफेसर रिचर्ड लेर्ड र कोलम्बिया युनिभर्सिटीका प्रोफेसर जेफ्री साक्स आदि अर्थशास्त्रीहरूले तयार पारेका हुन् । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट पहिलो पटक १० वर्षअघि २०१२ मा जारी गरिएको थियो ।
यो वर्ष एसियाली देशहरूमा म्यानमार, नेपाल, चीनको अवस्था तुलनात्मक रुपमा अरु एशियाली देस भन्दा राम्रो छ । प्रतिवेदनअनुसार म्यानमार ७२औँ , नेपाल ७८औँ तथा चीन ६४औँ स्थानमा छन भने भारत १२५ औं स्थानमा छ । जबकि पाकिस्तान यो सूचीमा १०८ नम्बरमा छ । बंगलादेशको अवस्था पाकिस्तानको भन्दा पनि राम्रो छ । बंगलादेश १०२औँ स्थानमा छ । भारतका छिमेकी देशको अवस्था खुसी देशको सूचीमा उसको भन्दा राम्रो छ ।
अफगानिस्तान सबैभन्दा दुखी देश वल्ड्र ह्यापिनेसको वार्षिक प्रतिवेदन अनुसार अफगानिस्तान सबैभन्दा दुखी देश हो । सूचीको अन्तिममा अफगानिस्तान छ । सबैभन्दा दुखी मानिसको देश मानिने अफगानिस्तान अन्तिम १३७ औँ स्थानमा परेको छ । सबैभन्दा कम खुसी नागरिक भएका देसमा देशमा लेबनान, जिम्बाब्वे, प्रजातान्त्रिक गणतन्त्र कंगो पनि पुछार तिर छन् । त्यहाँ सबैभन्दा बढी जनताले भ्रष्टाचार, गरिबीलगायत अनेकौं समस्याको सामना गरिरहेका छन् ।
शीर्ष १० खुसि नागरिक भएका देश :
१.फिनल्याण्ड : प्राप्त अंक – ७.८०४
२.डेनमार्क: प्राप्त अंक – ७.५८६
३.आइसल्याण्ड : प्राप्त अंक – ७.५३०
४.इजराइल : प्राप्त अंक – ७.४७३०
५.नेदरल्याण्ड : प्राप्त अंक – ७.४०३
६.स्वीडेन : प्राप्त अंक – ७.३९५
७.नर्वे : प्राप्त अंक – ७.३१५
८.स्विट्जरल्याण्ड : प्राप्त अंक – ७.२४०
९. लक्ज़मबर्ग : प्राप्त अंक – ७.२२८
१०. न्यूजील्याण्ड : प्राप्त अंक – ७.१२३
सबैभन्दा तलका १० देश :
१२८.जाम्बिया : प्राप्त अंक – ३.९८२
१२९.तान्जानिया : प्राप्त अंक – ३.६९४
१३०. कोमोरोस : प्राप्त अंक – ३.५४५
१३१. मलावी : प्राप्त अंक – ३.४९५
१३२. बोत्सवाना : प्राप्त अंक – ३.४३५
१३३. डेमोक्रेटिक रिपब्लिक कंगो : प्राप्त अंक – ३.२०७
१३४.जिम्बाब्वे : प्राप्त अंक – ३.२०४
१३५. सिएरा लियोन : प्राप्त अंक – ३.१३८
१३६.लेबनान : प्राप्त अंक – २.३९२
१३७ .अफगानिस्तान : प्राप्त अंक – १.८५९ ।
प्रतिक्रिया