महामारी घट्यो, मृत्युदण्ड बढ्यो

एजेन्सी । कोभिड महामारीको बल कम भएसँगै विश्वमा मृत्युदण्डको सजाय पाउनेहरुको संख्या बढेको छ । गत वर्ष संसारभर ५ सय ७९ जनालाई मृत्युदण्ड दिइएको थियो जसमध्ये सबैभन्दा बढी मृत्युदण्ड पाउनेमा इरानका मानिस थिए ।
मानवअधिकार संगठन एमनेस्टी इन्टरनेशनलले सन् २०२१ मा १८ देशका ५ सय ७९ जनालाई मृत्युदण्ड दिइएको बताएको छ जुन सन् २०२० को तुलनामा २० प्रतिशतले बढि हो ।
मृत्युदण्ड दिने देशको शीर्षमा इरान छ जहाँ ३ सय १४ जनाको मृत्यु भएको छ । सन् २०२० मा त्यहाँ २ सय ४६ जनालाई मृत्युदण्ड दिइएको थियो । इजिप्टमा २०२१ मा ८३ जनाभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो , जुन २०२० को तुलनामा २२ प्रतिशतले बढी हो ।
साउदी अरबमा सन् २०२० को तुलनामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिको संख्या दोब्बर भएको छ । त्यहाँ २०२१ मा ६५ जनाले मृत्युदण्डको सजाय पाएका थिए । एमनेस्टीको प्रतिवेदनले सन् २०२१ मा ५६ देशका अदालतले २ हजार ५२ जनालाई मृत्युदण्डको सजाय सुनाएको बताएको छ ।
यसैगरी बंगलादेश, भारत, डिआर कङ्गो, इजिप्ट तथा पाकिस्तानमा मृत्युदण्डको सजायमा ठूलो वृद्धि भएको छ । प्रतिवेदनमा चीनको तथ्यांक समावेश गरिएको छैन, तर त्यहाँ एक हजारभन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइएको अनुमान छ, जुन विश्वमा सबैभन्दा बढी हो ।
२०२१ को अन्त्य सम्ममा नेपाल सहित १ सय ८ देशले मृत्युदण्डलाई पूर्ण रूपमा समाप्त गरिसकेका छन् । अन्तर्राष्ट्रिय कानुनमा हत्याको अपराधमा मात्र मृत्युदण्डको व्यवस्था छ भने लागुऔषध सम्बन्धी कानुनमा धेरै देशले मृत्युदण्डको व्यवस्था गरेका छन् ।
प्रतिक्रिया