बिहीबार, वैशाख ६, २०८१

नमुना एकीकृत बस्ती निर्माण अलपत्र

नेपालखोज २०७९ चैत ११ गते १६:०५

काठमाडौं । बजेट अभावमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती अलपत्र परेको छ । पाँच वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको उक्त बस्ती निर्माणअन्तर्गत केही घर बन्न बाँकी छन् भने बनेका घरको ‘फिनिसिङ’ गर्न बाँकी छ ।

नमुना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्नेमा बजेट अभावका कारण केही महिनादेखि काम रोकिएको छ । छ घर निर्माण गर्न बाँकी रहेको निर्माण समितिले जनाएको छ । बस्ती निर्माण सम्पन्न हुनुअघि नै प्राधिकरणको म्याद सकिएपछि घर निर्माण तथा फिनिसिङको काम अलपत्र बनेको हो ।

बाँकी काम सम्पन्न गर्नका लागि नगरपालिकाले रू ४० लाख सहयोग दिने जनाए पनि एक वर्षदेखि निकासा हुन नसकेको बस्ती निर्माणका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाले बताए । उनका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी कामसक्ने योजना बनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबाले पहिलो चरणमा लगेको पेस्की फछ्र्याेट भएपछि बस्ती निर्माणका लागि उपलब्ध गराउने रकम निकासा गरिने बताए । यसअघि पालिकाले रू १० लाख सहयोग गरेको थियो । प्राधिकरणबाट समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको थियो ।

समितिका अध्यक्ष आइतमान तामाङले पटकपटक रू ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणलाई निरन्तरता दिइएको बताए । समितिका अनुसार प्राधिकरणबाट विभिन्न मितिमा रू दुई करोड ८० लाख निकासा भएको छ ।

तीनधारामा स्थानीय तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टेसहितको नमुना तामाङ बस्ती निर्माण थालिएको हो । एकतले तीनकोठा भएका एकै डिजाइनका घर निर्माण सम्पन्न गर्न जनश्रमदानबाहेक रू १३ लाख लाग्ने समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माणार्थ दुई वर्षअघि एक सय ५० दिन खटेकी थिईन् । नमुना तामाङ बस्ती निर्माण थालेपछि कामको दिन हेरेर उनीसँगै गाउँका महिला, पुरुष जनश्रमदानमा जुटेका थिए । ‘गाउँमा चिटिक्कका घर एकै ठाउँमा बनाएर बस्ने, पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले आफैँ काम गर्न आउथ्यौँ, अहिले पैसा छैन भनेर काम रोकिएको सुनेका छौँ’, पञ्चकुमारीले भनिन् ।

उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रू ५० हजार पाँच वर्षअघि सोही बस्ती निर्माणका लागि दिएका थिए । सरकारसँग सम्झौता गरी तीनधारका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् संस्थाले बाँकी किस्ता नदिएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रू एक करोड ४० लाख रकम निकासा भएको थियो । स्थानीय विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत सहयोग गरिरहेको बताए । ‘भूकम्पपीडितको आवास निर्माणका लागि भनेर आएको पहिलो किस्ताको रू ५० हजार पनि बस्ती निर्माणमा खर्चिइएका छौँ’, उनले भने ।

बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होमस्टेका लागि एउटा कोठा व्यवस्थित गर्नुपर्ने सम्झौता गरिएको छ । रू ४० लाखमा निर्माण भएको सामुदायिक भवनमा विवाह, ब्रतबन्ध, घेवा (तामाङ समुदायको काजकिरिया), तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङ्ग्रोलगायत सामाग्री सङ्ग्रहित गरिने समितिका अध्यक्ष तामाङले बताए । उनका अनुसार बस्तीको बीचमा बगैँचा बन्नेछ । ‘छ घरको एक ब्लक बनाई छुट्टाछुट्टै पाँच ब्लकमा ३० घर निर्माण गरिएको हो’, उनले भने ।

प्रतिक्रिया