चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ : प्रबन्ध निर्देशक झा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पुर्याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।
यस वर्ष कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै विद्यालयमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
कोरोनाको महामारीको समयमा बिग्रिएको शैक्षिकसत्र यस वर्षदेखि वैशाख १ देखि नै सुरु हुने भएपछि केन्द्रले २४सै घन्टा छापाखाना सञ्चालन गरेर पुस्तक छपाइ गरिरहेको उनले बताए ।
उनले भने, ‘यसवर्ष जनक शिक्षाले कक्षा ६ देखि १० सम्मको मात्रै पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको छ, एक करोड ५० लाख थान पुस्तक छपाइ गर्नुपर्ने हो, त्यसमध्ये एक करोड ३५ लाख थान अर्थात् ९० प्रतिशत पुस्तक छापिसक्यौँ, अब बाँकीे १५ लाख थान केही दिनभित्रै छपाइ सकेर जिल्ला जिल्ला पठाउछौँ ।’
चैत २० गतेदेखि पुस्तक बिक्री सुरु हुने र दुई दिनभित्रै पुस्तक जिल्ला जिल्लामा पुर्याउने केन्द्रको दाबी छ । केन्द्रका अनुसार जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुरमा पुस्तक पठाउनेक्रम जारी छ । लुम्बिनी प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइ त्यहाँबाट पनि वितरण गर्ने जनाएको छ ।
पाठ्यपुस्तकको मूल्यवृद्धि भने यस वर्ष पनि नहुने भएको छ । नयाँ पाठ्यक्रम लागू भएका केही विषयको मूल्य निर्धारण आज हुने बताइएको छ । सरकारले निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको एक करोड २० लाख थान पुस्तक छपाइको जिम्मा दिएको छ । नयाँ शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमसमेत लागू हुने भएपछि नयाँ पाठ्य पुस्तक छपाइ भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया