शान्तिपूर्ण रुपमा अधिकार माग्दा नियन्त्रण नगर्न सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नं १ को नाम कोशी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बु (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै उनले यस किसिमका दुखद् घट्नाको अन्त्य गर्न माग गर्दै शान्तिपूर्ण रुपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै यसमा हुने दमनलाई रोक्न आग्रह गरे ।
बैठकमा सांसद रामहरि खतिवडाले कुनै पनि दुर्घटनामा घाइते हुने यात्रुको उपचारमा अस्पतालले धरौटी माग्ने गरेको र विभिन्न कठिनाइ रहेको बताउँदै यसमा सहज व्यवस्थाका लागि सरकारसँग आग्रह गरे।
साथै उनले आमजनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क तथा प्रभावकारी सेवा प्रदान आवश्यक प्रबन्ध गर्नसमेत माग गरे । सांसद अरुणकुमार चौधरीले सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको कर्णाली चिसापानी पुल उचित मर्मतको अभावमा नटबोल्ट खिइएर झरेको अवस्थामा रहेकाले दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै तत्काल उचित मर्मतसम्भारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया