नेपाल र भुटानकाे खेल बराबरी

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ९० औं मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको हो । निशान खड्काको कर्नरमा अनन्त तामाङले हेडरमार्फत उपलब्ध पासमा दीपकले हेडमार्फत गोल गरे । दीपकको यो पहिलो अन्तराष्ट्रिय गोल हो । उनले लाओसविरुद्धको खेलबाट डेब्यु गरेका थिए । त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।
यस अघिको १२ भेटमा नेपालले १२ खेलमै जित निकालेको थियो । यस बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ । भुटान भने बाहिरिएको छ । अब नेपालले लाओससँग चैत १७ गते उपाधिका लागि खेल्नेछ । नेपालले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । लाओसले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । भुटान १ अंक जोडेर घर फर्किएको छ ।
प्रतिक्रिया