गोलबजारका मेयरमाथि आक्रमण, विरोध जनाउँदै एमाले कार्यकर्ता सडकमा

नेपालखोज २०७९ चैत १५ गते ११:२२

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको छ । सो आक्रमणको विरोध जनाउँदै नेकपा एमालेका युवाहरू सडकमा ओर्लिएका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

कार्यालयबाट बाहिर जाने क्रममा मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए । सोमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को कार्यकर्ता छन् ।

सो पार्टीको जनसंघर्ष परिचालन समितिको पर्चा समेत गोलबजार नगरपालिका क्षेत्रमा फेला परेको थियो । उक्त पर्चामा मेयर श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।

मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ समेत रहेका उनीमाथि आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका महरा र सो घटनामा संलग्न अन्यलाई समेत पक्राउ गरी कडा कारबाही गर्नुपर्ने एमालेका कार्यकर्ताले माग राखेका छन् ।

प्रतिक्रिया