शुक्रबार, वैशाख २६, २०८२

‘बेल्ट एण्ड रोड’ को नाममा ऋणको दलदलमा धकेल्दैछ चिन

नेपालखोज २०७९ चैत १५ गते १६:३०

एक पश्चिमेली रिपोर्ट अनुसार चीनले गत दुई दशकमा २२ विकासोन्मुख देशहरूलाई २४० अर्ब डलर बेलआउट ऋण दिएको छ, तर आलोचकहरूले चीनले ती देशलाई ऋणको जालमा फसाईरहेको चेतावनी दिएका छन् । हिजो मङ्गलबार जारी गरिएको प्रतिवेदनअनुसार चीनले गएको दुई दशकमा डिफल्ट हुने जोखिममा रहेका २२ विकासोन्मुख देशलाई २४० अर्ब डलरको बेलआउट ऋण उपलब्ध गराएको छ । अमेरिकामा आधारित रिसर्च ल्याबएड डाटा, विश्व बैंक, हार्वर्ड केनेडी स्कूल तथा विश्व अर्थतन्त्रका लागि काइल इन्स्टिच्युटको ४० पृष्ठको प्रतिवेदनले २०१६ र २०२१ को बीचमा यस्ता बेलआउट ऋण जारी गर्ने क्रम बढेको उल्लेख गरेको छ।

चीनले कस्ता देशलाई ऋण दिदैछ ?

रिपोर्टमा भनिएको छ – चीनले जारी गरेको लगभग सबै कोष पाकिस्तान, श्रीलंका र टर्की लगायत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा ​​संलग्न कम र मध्यम आय भएका देशहरूलाई प्रदान गरिएकोछ । यो ऋण ती देशलाई पूर्वाधार निर्माणका लागि दिइएको हो ।

बीआरआईको काम भ‌इरहेका देशहरु निकै दबाबमा छन् । बढ्दो मुद्रास्फीति , ब्याजदर तथा कोरोना महामारीको दीर्घकालीन प्रभावका कारण ती देश ऋण तिर्ने कुरामा गम्भीर समस्यामा छन् । प्रतिवेदनमा भनिएको छ- बेलआउटले ती देशलाई उनीहरूको ऋण बढाउन र तिर्नका लागि अनुग्रह अवधि प्रदान गर्दछ । चीनका अनुसार एक ट्रिलियन डलरको लागतमा विश्वव्यापी पूर्वाधारमा काम गर्ने बीआरआई परियोजनामा ​​विश्वका १ सय ५० भन्दा बढी देश संलग्न छन् । बीआरआई एक दशकअघि चिनियाँ राष्ट्रपति सीले ल्याएको योजना हो जसमा नेपालको समेत सहभागिता छ ।

के चीन ऋणको जालमा फसाउँदैछ ?

बेइजिङले यो कदम अन्य देशहरू विशेष गरी विकासोन्मुख क्षेत्रहरूसँगको मैत्रीपूर्ण व्यापार सम्बन्धलाई सुदृढ तुल्याउने उद्देश्यले ल्याइएको बताएको छ । यता आलोचकहरू के कुरामा चिन्तित छन् भने चीनले विकासोन्मुख र कम आय भएका देशहरूलाई ठूला र तिर्न नसकिने ऋण प्रदान गरेर ऋणको दलदलमा धकेलिरहेको छ । प्रतिवेदनमा भनिएको छ – चीनले बेल्ट एन्ड रोडमा बेलआउटको प्रणाली विकास गरेको छ जसले ऋण प्राप्तकर्ता देशलाई डिफल्ट हुनबाट जोगिन र उनीहरूको ऋण जारी राख्न मद्दत गर्दछ, कम्तिमा छोटो अवधिमा।

बढी ब्याज लिइन्छ प्रतिवेदनले चेतावनी दिएको छ – अन्य अन्तर्राष्ट्रिय ऋणदाताहरूको तुलनामा, चिनियाँ ऋण अपारदर्शी र असंगठित छ भने अधिकांश ऋणि देशले आईएमएफको सामान्य दुई प्रतिशत ब्याज दरको तुलनामा औसत पाँच प्रतिशत शुल्क तिरिरहेका छन् । एएफपी / रोयटर्स

प्रतिक्रिया