मंगलबार, वैशाख ४, २०८१

आजदेखि ‘ट्रेकिङमा गाइड अनिवार्य’ लागू हुने

नेपालखोज २०७९ चैत १७ गते ७:२२

काठमाडौं । सरकारले पदयात्रा (ट्रेकिङ) व्यवस्थित बनाउन विदेशी पर्यटकलाई गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था गरेको छ । पर्यटन बोर्डले आज चैत १७ देखि यो नियम लागू गर्दैछ ।

यससँगै अब पर्यटन क्षेत्रमा ५० हजारभन्दा बढीले रोजगारी पाउने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

कोभिडमा रोजगारी गुमाएका पर्यटन क्षेत्रका मजदुरका लागि यो व्यवस्थाले थप राहत ल्याएको व्यवसायीहरू बताउँछन् । विदेशी पर्यटकको साथमा गाइड अनिवार्य जानुपर्ने व्यवस्थाले सहयोगी पोर्टर (भारी बोक्ने) ले पनि काम पाउने टानको भनाइ छ ।

टानका अनुसार कोभिडअघि समग्र पर्यटन उद्योगमा करिब १५ लाखले रोजगारी पाएका थिए । जसमा साढे तीन लाखभन्दा बढी ट्रेकिङ गाइड र सहयोगी थिए ।

हाल पर्यटकहरू दुई तरिकाले ट्रेकिङमा जान्छन्। पहिलो, एक्लै । पर्यटक आफूले चाहेको गन्तव्यमा ’फ्रि इन्डिपेन्डेन्ट ट्राभल्स (एफआइटी)’ का लागि जारी हुने बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सहयोगीबिनै पदयात्रामा जान पाउँछन् । दोस्रो, समूहमा ।

ग्रुप इन्क्लुसिभ ट्राभल्स (जिआइटी) लागि जारी हुने कार्ड लिएर समूहमा जान सक्छन् । अब एफआइटीका लागि जारी हुने टिम्स कार्ड बन्द भएको छ । त्यसैले एक्लै जान पाउँदैनन् । जिआइटी मार्फत नै प्रक्रिया पु¥याएर जानुपर्नेछ ।

प्रतिक्रिया