शुक्रबार, वैशाख २८, २०८१

योगलाई आसनका रुपमा मात्र नबुझौं

डा. रवीन्द्र पाण्डे २०७८ फागुन २६ गते ८:३१

योगश्चितवृत्तिनिरोध अर्थात् योगले चित्तवृत्तिको निरोध गर्दछ । चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महर्षि पतञ्जलीका अनुसार हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पन्न गर्दछ । योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलतातर्फ, जीवनबाट ब्रहृमतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रामा पुर्याउँछ ।

योगको वास्तविक अर्थ हो जोड्नु, मिल्नु वा एकाकार हुनु हो । यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो भनेका छन् ।

हामीले योगको वास्तविक सिद्धान्तभन्दा टाढा रहेर आसनलाई नै योग ठानेका छौं । योगका ८ वटा खुड्किला छन् । यी आठ अंगलाई क्रमशः आत्मसात गर्यौं भने योगको यात्रामा हामी सहि अर्थमा लाग्नेछौं । यी आठ अंग यसप्रकार छन् ।

१) यम, २) नियम, ३) आसन, ४) प्राणायाम, ५) प्रत्याहार, ६) धारणा ७) ध्यान ८) समाधि ।

यम : यमको अर्थ संयम र नैतिकता हो । हामीले अरुलाई त्यस्तो काम गर्नु हुँदैन जस्तो काम अरुले आफुलाई नगरोस् भन्ने हाम्रो अपेक्षा हुन्छ ।

अहिंसा : शब्दबाट, विचारबाट र कर्मबाट कसैलाई पनि हानी नपुर्याउनु अर्थात मन, वचन र कर्मद्वारा कुनै पनि प्राणीलाई कुनै अनि प्रकारको कष्ट नदिने भावना नै अहिंसा हो । अर्थात् प्राणीहरुलाई प्रेम गर्नु नै अहिंसा हो ।

सत्य- सत्य विचार गर्नु र सत्यतामा स्थिर रहनु नै सत्य हो । अर्थात मनले जे बुझ्छ, आँखाले जे देख्छ, कानले जे सुन्छ त्यहि बताउनु नै सत्य हो । सत्य बाहिरि मात्र नभएर आन्तरिक पनि अस्तेय : मन, वचन र कर्मदेखि नै चोरी नगर्ने तथा अर्को व्यक्तिको धनसम्पत्तिको लोभ नगर्नु नै अस्तेय हो ।

ब्रह्मचर्य : इन्द्रिय सुखमा संयम बन्नु तथा ब्रह्मज्ञानमा स्थिर रहनु अर्थात समस्त ज्ञानेन्द्रीय तथा कर्मेंद्रियलाई संयममा राख्नु, बाणी र शरीरबाट वासनाभोग नगर्नु नै ब्रह्मचार्य हो ।

अपरिग्रह – आवश्यकताभन्दा धेरै संचय नगर्नु अर्थात अनायास प्राप्त भएका सुखका साधनको त्याग, चोरीको त्याग, दानको अस्वीकार तथा आवश्यकताभन्दा धेरै सम्पत्ति तथा सामग्रीको संचय नगर्नुलाई अपरिग्रह भनिन्छ ।

नियम : व्यक्तिगत नैतिकता
शौच :
शरीर र मनको शुद्धि हुनु अर्थात शरीरको बाह्य तथा आन्तरिक शुद्धिलाई सौच भनिन्छ । स्नान, सात्विक भोजन, राग/द्वेष आदिलाई त्यागेर मनका वृत्तिलाई निर्मल बनाउनु नै सौच हो ।

सन्तोष – आफ्नो अवस्थामा सधैं सन्तुष्ट रहनु, आफ्नो मिहिनेत र कामले जे प्राप्त हुन्छ त्यसमा सन्तुष्ट तथा प्रशन्न हुनु नै सन्तोष हो ।

तप – सुख/दु:ख, जाडो/गर्मी, भोक/प्यास आदि द्वन्द्वलाई सहन सक्ने जुन मानसिक र शारीरिक साधना हुन्छ, त्यसलाई तप भनिन्छ ।
स्वाध्याय – विचार शुद्धि र ज्ञानप्राप्तिको लागि अध्ययन, सत्संग र विचारको आदान – प्रदान नै स्वाध्याय हो ।

ईश्वर-प्रणिधान – इश्वरप्रति पूर्ण समर्पण र पूर्ण श्रद्धा गर्नु अर्थात मन, बचन र कर्मदेखि ईश्वरको भक्ति, इश्वरको नाम, रूप, गुण, लीला आदिको श्रवण, कीर्तन, मनन तथा सबै कर्ममा ईश्वरार्पण गर्नु नै ईश्वर प्रणिधान हो ।

तीन आसन : आसनको अर्थ आरामले बस्ने, मूर्तिवत् रहने, मनलाई आफ्नो अधिनमा राख्ने तथा शरीरलाई ढिलो छोड्ने र लचक बनाउने हो । शास्त्रमा ८४ प्रकारका आसनको उल्लेख गरिएको छ ।

प्राणायाम : श्वासप्रश्वास लिने विशिष्ट तरिकाबाट प्राणबायुलाई नियन्त्रणमा राख्ने ।

प्रत्याहार : जुन इन्द्रियले मनलाई चंचल बनाउँछन्, ती इन्द्रियलाई विषयबाट हटाएर मनलाई एकाग्र राख्नु नै प्रत्याहार हो । प्रत्याहारमा इन्द्रिय आफ्नो अधिनमा रहन्छन् र इन्द्रियमाथि पूर्ण विजय प्राप्ति हुन्छ ।

धारणा – एकाग्रचित्त भएर आफ्नो मनलाई अधिनमा राख्नु । हृदय, भ्रुमध्य आदिमा एकटकले मनलाई अड्याउनु ।
ध्यान – निरन्तर ध्यान गर्नु, ध्याता र ध्येय एकाकार हुनु ।

समाधि – परम चैतन्यको अवस्था अर्थात आत्मासँग शरीर / मन एकाकार हुनु । ध्यानको परिपक्वता नै समाधि हो । समाधिपछि प्रज्ञाको उदय हुन्छ । योगको अन्तिम लक्ष्य यहि हो ।

आसन
आसन अष्टांग योगको तृतीय अंग हो । जसमा योगासानबाट शरीरलाई हृष्टपुष्ट बनाउनुको साथै योग साधनाको लागि योग्य बनाउँछ । आसनको सिद्धिबाट नाडीको सुद्धि, आरोग्यको वृद्धि र स्फुर्ति प्राप्त हुन्छ । शरीर स्थिर रहोस् तथा मनले सुख अनुभूति गरोस् भन्ने आसनको अर्को ध्येय हो । आसनको ज्ञानबाट सृष्टिमा भएका जीवजन्तुले कसरी बस्दा सुखको अनुभव गर्छन्, त्यो थाहा हुन्छ र अनुभव पनि हुन्छ ।

साध्यत्वको दृष्टिबाट योग आसनलाई चार वर्गोंमा विभाजन गर्न सकिन्छ ।
(१ ) ध्यानात्मक आसन
(२ ) आरामदायक आसन/सहज साध्य आसन
(३ ) सांस्कृतिक/साधारण आसन/श्रम साध्य
(४ ) कठिन/कष्ट साध्य आसन

क्रियाको दृष्टिबाट योग आसनलाई ५ वर्गमा विभाजन गर्न सकिन्छ –
(१ ) उभिएर गर्ने आसन
(२ ) बसेर गर्ने आसन
(३ ) पेटको बलमा सुतेर गर्ने आसन
(४ ) पीठको बलमा सुतेर गर्ने आसन
(५ ) शिरको बलले गर्ने आसन

आसन गर्नको लागि निम्न नियम पालना गर्नुपर्दछ –
(१ ) योगासन गर्ने स्थान शान्त, स्वच्छ तथा हावा खेल्ने हुनुपर्छ ।
(२ ) पेट खाली हुनुपर्छ ।
(३ ) भूमि समतल हुनुपर्छ ।
(४ ) मन एकाग्र हुनुपर्छ ।
(५ ) श्वास गति तथा मन सामान्य एवं शान्त राख्नुपर्छ ।
(६ ) अभ्यास बिस्तारै बिस्तारै सरलतापूर्वक गर्नुपर्छ ।
(७ ) दैनिक अभ्यास गर्नुपर्छ ।
(८ ) थोरै र सहज कपडा लगाउनुपर्छ ।
(९ ) प्रशिक्षकको निर्देशन अनुरुप सहि तरिकाले गर्नुपर्छ ।
(१० ) संतुलित तथा हल्का भोजन गर्नुपर्छ ।
(११ ) आँखा खुला अथवा सहज भावमा राख्नुपर्छ ।
(१२ ) नाकबाट सास लिनुपर्छ ।
(१३ ) मनमा आत्म विश्वास तथा शारीरिक निरोगताको भावना हुनुपर्छ।

केहि लोकप्रिय आसनहरु : सिद्धासन, पदमासन, स्वास्तिकासन, सुखासन, गोमुखासन, वज्रासन, योगासन, मत्स्यासन, शीर्षासन, सूर्य – नमस्कारामन, शवासन आदि । मनको शक्ति यताउता फैलिएका किरण समान हुन्छ । जब ती किरणलाई एकिकृत गरिन्छ, त्यसले मनलाई आलोकित गर्दछ । योगको अभ्यासले जबसम्म मनका बिकार कम हुँदैनन् तबसम्म आध्यात्मिक ज्ञानको प्रकाश उपलब्ध हुँदैन ।
विविध आसन, अभ्यास, साधना,ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया योग हो। महर्षि पतञ्जलीका सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । महषिर् पतञ्जलीका अनुसार योगश्चितवृत्तिनिरोध अर्थात् योगलेचित्तवृत्तिको निरोध गर्दछ । हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उतपत्ति र लय भइरहेको हुन्छ ।योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रहृम, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा हो योग ।केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन पनि हो भनेका छन् संक्षपमा भन्नुपर्दा आफ्नो इच्छाशक्तिलाई परआत्माको इच्छाशक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ । एक विद्वान्काअनुसार योगको वास्तविक अर्थ हो, जोड्नु, मिल्नु वा एकाकार हुनु, यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्थानै योग हो भनेका छन् ।

श्री मदभगवत्गीतामा मुख्य तीन प्रकारका योगलाई मानिसको जीवनमा उतारिएको पाइन्छ ।
-कर्मयोग,
-ज्ञानयोग र
-भक्तियोग
यसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवान्को सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।

प्रतिक्रिया