विराटनगर सिटीले उचाल्यो विराट गोल्डकपको उपाधि

काठमाडौं । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटीले उचालेको छ । विराटनगरको शहीद रंगशालामा बिहीबार बेलुकी भएको फाइनल खेलमा भारतीय क्लब लुका सकरलाई ४–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि उचालेको हो ।
घरेलु टोली विराटनगरले ६१ वर्षपछि दोस्रो पटक गोल्डकपको उपाधि हात पारेको छ । यसअघि २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो भने २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसयता पहिलो पटक उपाधि जित्न सफल भयो । विराट गोल्डकपमा पहिलो पटक भाग लिएको केरला उपविजेता बन्न सफल भयो ।
खेलमा विराटनगरका सुरज विके म्यान अफ दी म्याच बन्दै नगद ११ हजार प्राप्त गरे । फेयर प्ले अफ द टुर्नामेन्टको उपाधि जावलाखेल युथ क्लबले प्राप्त गरेको छ । यसैगरी सर्वाधिक गोलकर्ताको अवार्ड विराटनगरका अभिषेक गुरुङले हात पारे । हरेक खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेकले गोल पनि गर्दै आएका थिए । फाइनलमा पनि उनले टिमका लागि चौथो गोल गरेका थिए ।
यसैगरी उत्कृष्ट फरवार्डको उपाधि भने लुका सकर भारतका चल्सले हात पारे । उत्कृष्ट डिफेन्डरमा देवेन्द्र तामाङ रहे भने उत्कृष्ट मिडफिल्डरको रुपमा विराटनगरका युता सुजुकी रहे । उत्कृष्ट गोलकिपरको रुपमा विराटनगरका विशाल श्रेष्ठ रहँदा उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरकै सन्तोष न्यौपानेले हात पारे । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भने विराटनगरका मेसुके ओलाउमो रहे ।
विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २५ हजार रुपैयाँ र मुख्य प्रायोजक काब्रा ग्रुपबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको नगद २५ हजार पुरस्कार भने नेपाली क्रिकेट टिमका पूर्व खेलाडी तथा व्यवसायी पारस लुनियाले प्रायोजन गरेका थिए ।
प्रतिक्रिया