मंगलबार, असार ३, २०८२

मन्त्री यादवद्वारा पदभार ग्रहण

नेपालखोज २०७९ चैत १७ गते १८:४६

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।

मन्त्री यादवले आज पदबहाली गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । ‘महिलाको अधिकारको लागि बनाउनुपर्ने कानुन, वर्तमान मन्त्रालयका यथास्थितिका समस्यालाई सामूहिक छलफल गरी समाधान गर्छौँ । जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ ।’ उनले भने ।

मन्त्री यादव यसअघि २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएका थिए ।

गत मङ्सिर ४ को निर्वाचनमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्री यादवको जन्म विसं २०११ मा सर्लाहीको हरिपूर्वा नगरपालिकामा भएको हो ।

विसं २०३७ मा नेकपा (एमाले)को सदस्यका रुपमा उनको राजनीतिक यात्रा सुरु भएको थियो । उनले २०६२/६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) स्थापना गरे । तर केही समयपछि तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र त्यसपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य बनेका थिए ।

मन्त्री यादवले मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गरे ।

विसं २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित भएका उनले दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही-४ बाट निर्वाचित भए । यादव विसं २०७४ को निर्वाचनमा सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही-२ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया