बिहीबार, वैशाख १३, २०८१

चर्च ब्वाईजले जित्यो जीतपुरसिमरा गोल्डकपको उपाधि

नेपालखोज २०७९ चैत १९ गते ७:२७

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ । 

उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो ।  प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरे । 

खेलको शुरुवातमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थक माझ जितका लागि अन्तिम सम्म संघर्ष गरेको थियो । खेलको छैठौं मिनटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए । सेन्टरलाईनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।

दश खेलाडीमा सिमीत बनेरपनि चर्च ब्वाईजलाई शेर्पाले पहिलो हाफको अन्तिम सम्म कडा चुनौति दिएको थियो । खेलको ३५ औं मिनटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । डिबक्स बाहिरबाट कप्तान मिलन राईले गरेको प्रहार सिधै जाली चुमेको थियो । उनको  प्रहारलाई रोक्न हिमालयन शेर्पाका गोल किपर  किसोर गिरी असफल देखिए । 

दोश्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईले गोल गर्दै अग्रता दोब्बर  बनाए । काउन्टर एट्याकमा आशिषले मैदानको मध्य भागबाट एक्लै  बल अघि बढाउदै टीमका लागि दोश्रो गोल गरे । 

विधागत पुरस्कार तर्फ पनि जीतपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाँई घोषित भए उनीहरुले समान २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशिल राई घोषित भए । उनले २० हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए उनले २० हजार नगद प्राप्त गरे ।

प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए उनले नगद पन्ध्रहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका थिए । 

प्रतिक्रिया