गोविन्दराज जोशी गरे मौन बस्ने संकेत

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा मौन बस्ने संकेत गरेका छन् । उनले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन नगर्ने संकेत गरेका हुन् ।
आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा, चितवन र तनहुँमा २०७९ सालको निर्वाचनमा पार्टीको आधिकारिक र पार्टीले समर्थन गरेको उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्ताले १० वैशाखको उपनिर्वाचनमा सहयोग गरेमा कारबाही फिर्ता गर्न सक्ने निर्णय गरेको छ ।
तर जोशीले कांग्रेसले आफू र आफूसँग सम्बन्धित व्यक्तिहरुसँग सल्लाह नगरी एकलौटी रुपमा निर्णय गरेको भन्दै यसलाई नमान्ने बताएका छन् ।
गत ४ मंसिरमा भएको चुनावमा तनहुँ– १ मा जोशीले कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । रामचन्द्रले २५ हजार ३१३ मत ल्याएर निर्वाचित हुँदा तेस्रो स्थानमा आएका जोशीले ६ हजार ८७८ मत पाएका थिए । दोस्रो भएका एमालेका एकबहादुर रानाले १९ हजार ९२५ मत पाएका थिए ।
१० वैशाखको चुनावमा तनहुँ– १ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ र जोशीको सहयोगको अपेक्षा गरेको छ । जोशीले आइतबार दिउँसो तनहुँमा पत्रकार सम्मेलन गरी आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्, तर कसलाई समर्थन गर्ने निर्णय गरिनसकेको बताएका छन् । जोशीले कांग्रेसले आफ्नो कारबाही फकुवा भएको भ्रम पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिक्रिया