अनलाइन ठगी कारोबारमा संलग्न २३ जना पक्राउ

नेपालखोज २०७९ चैत २१ गते ८:०२

काठमाडाैं । अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट पक्राउ गरेको हो ।

पिडारी चोकमा एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए । गौतमका अनुसार उनीहरूले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो धन्दा गर्दै आएका थिए । पक्राउ पर्नेमा १४ पुरुष र नौ महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको गौतमले बताए ।

पर्सा पकहा मोहनपुर–५ का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आएका थिए । धनुषाको सबैला घर भई जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीले बताएको छ ।

यो गिरोहमा २० देखि ३० वर्ष उमेर समूहका युवायुवती छन् । आधाभन्दा बढी युवतीले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्न विभिन्न प्रलोभन दिने र पछि तस्बिर आदानप्रदानमार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया