नेपालले टी-२० विश्वकप २०२४ को छनोट खेल्ने

नेपालखोज २०७९ चैत २२ गते ७:२२

काठमाडौं । नेपालले आगामी जुनमा एकदिवसीय विश्वकप २०२३ को अन्तिम छनोट खेल्दैछ। जिम्बावेमा हुने छनोटमा नेपालसहित १० टिमले भाग लिँदैछन् । जहाँ विश्वकप विजेता देशहरु श्रीलंका र वेस्ट इन्डिज पनि भिड्दैछन्। 

एकदिवसीय विश्वकपको छनोट खेलेको केही महिनापछि नेपालले टी-२० विश्वकप २०२४ को छनोट खेल्नेछ।

यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधानसँगै नेपालले एसिया कपको छनोट खेल्न लागेको हो।

युरोप, अमेरिका र इस्ट एसिया प्यासेफिक क्षेत्रीय छनोटको आयोजक राष्ट्र र मिति तय भइसकेको छ। तर एसिया छनोटको आयोजक र मिति तय भइसकेको छैन। यद्यपी आइसिसीले सन् २०२३ को अन्तिम चार महिना भित्रमा छनोट प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन् । पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी-२० विश्वकपमा यसपटक २० वटा टिमले सहभागिता जाउँदैछन्।

२०२४ को टी-२० विश्वकपका लागि १२ वटा टिम सिधै छनोट भैसकेका छन् भने ८ वटा टिमले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ।

गत वर्षको अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा भएको टी-२० विश्वकपको शीर्ष आठ टिमले २०२४ को विश्वकपमा सिधै प्रवेश पाउने छन् जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका तथा श्रीलंका छन् । अमेरिका र वेस्ट इन्डिज आयोजकका हैसियतले टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्न पाउने छन्। अमेरिकाले पहिलो पटक टी-२० विश्वकप खेल्दैछ। 

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको छ जसबाट अफगानिस्तान र बंगलादेशले टी-२० विश्वकपमा स्थान बनाएका छन् भने अब बाँकी आठ स्थानका लागि क्षेत्रीय छनोट हुनेछ। 

टी-२० विश्वकपका सहभागिहरुको समिकरण सिधा छनोट भएका टिम : अस्ट्रेलिया , इंग्ल्यान्ड , भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका तथा श्रीलंका ।

– आयोजक अमेरिका तथा वेस्ट इन्डिज

– आइसिसी विश्व वरीयताक अफगानिस्तान र बंगलादेश ।

– क्षेत्रीय छनोटबाट : अफ्रिका – २ टिम , अमेरिका –  १ टिम, एसिया – २ टिम, इस्ट एसिया प्यासेफिक – १ टिम तथा युरोप – २ टिम ।

नेपाल एसिया छनोटमा ८ टिम मध्ये शीर्ष दुईमा परे विश्वकपमा 

एसियाको अन्तिम छनोटमा नेपालले स्थान बनाएको छ । नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर तथा बहराइन अन्तिम छनोटमा पुगिसकेका छन् । अब थप दुई टिम एसिया छनोटको अन्तिम चरणमा पुग्नेछन्। जसका लागि समूह ‘ए’ मा कुवेत, माल्दिभ्स,  कतार र साउदी अरेबिया भिडदै छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन् । दुवै समूहको शीर्ष टिम एसिया छनोटमा पुग्नेछन्। 

एसिया छनोटमा बहराइन, नेपाल, ओमान, हङकङ, सिंगापुर, युएई, छनोट ए विजेता, छनोट बी विजेता मध्ये बाट शिर्ष  दुई टिमले टी-२० विश्वकप २०२४ मा सहभागिता जनाउन सक्नेछन् । यसका लागि पहिलो चरणको छनोट आगामी अगस्टपछि हुनेछ भने त्यसपछि एसियाको अन्तिम चरणको छनोट हुनेछ ।

प्रतिक्रिया