काबुलस्थित दूतावासको सुरक्षामा खटिएका गोर्खा गार्डलाई बेलायतबाट नेपाल फिर्ता पठाइदै

काठमाडाैं । सन् २०२१ मा अफगानिस्तानमा तालिवानको शासनकालमा उद्धार गरी बेलायत पुर्याइएका नेपाली सुरक्षा गार्डको समूहलाई अहिले १९ महिनापछि स्वदेश फिर्ता पठाइने भएको छ । गोर्खा भनेर चिनिने १३ नेपाली सैनिकको यो समूहले काबुलस्थित बेलायती दूतावासको सुरक्षामा काम गर्दथ्यो । ती १३ जनालाई बेलायतमा बस्ने कानूनी अधिकार रहेको ती सैनिकका वकिलहरूले बताएका छन् ।
यी नेपाली नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ । उनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे जसलाई काबुलमा बेलायत र क्यानाडाली दूतावासहरूको सुरक्षाको जिम्मेवारी दिइएको थियो । अफगानिस्तानको राजधानी काबुल अगस्ट २०२१ मा तालिवानको नियन्त्रणमा आयो। त्यसपछि राष्ट्रपति असरफ घानीको सरकार पतन भयो र उनी देश छोडेर भागे । उक्त घटना पछि ब्रिटिश सेनासँग काम गरेका हजारौं अफगान तथा सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालियो।
केही सुरक्षा गार्डका वकिलहरूका अनुसार गत हप्ता लन्डनको एक होटलमा छापा मार्दा उनीहरूमध्ये १० जनालाई हथकडी लगाएर गिरफ्तार गरिएको थियो । उनीहरु माथि होटलमा बसेर त्यहाँको भान्छामा काम गरेको आरोप छ । गत हप्तादेखि उनीहरु सबैलाई हिथ्रो एयरपोर्ट तथा ग्याटविक वरपरको इमिग्रेसन रिमुभल सेन्टरमा राखिएको छ । यी सबैलाई भोलि चैत्र २३ गते बिहिवार (अप्रील ६) नेपाल पठाइने बिबिसिले उल्लेख गरेको छ ।

प्रतिक्रिया