तालिबानले महिला कर्मचारीलाई काम गर्नबाट रोकेको राष्ट्रसंघको भनाइ

संयुक्त राष्ट्र संघले भनेको छ – तालिबानले महिलाहरु विरुद्ध काममा लगाइएको प्रतिबन्धको दायरा विस्तार गर्दै संयुक्त राष्ट्र मिशनका लागि काम गर्ने महिलाहरूलाई समेत त्यसमा समावेश गरेकोछ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा रहेका आफ्ना करिब ३ हजार ३ सय कर्मचारीहरु माथि तालिवानले प्रतिबन्ध लगाउने संकेत गरेपछि आगामी ४८ घण्टा काम नगर्न भनेको छ। ती कर्मचारीमा करिब चार सय महिला छन् ।
संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको एक ब्रीफिङका क्रममा अफगानिस्तानमा रहेका आफ्ना महिला कर्मचारीले ‘सरकारि अधिकारीहरूबाट मौखिक आदेश’ प्राप्त गरेको बताए । दुजारिकले भने – संयुक्त राष्ट्र संघका प्रतिनिधिहरूले बुधबार काबुलमा तालिवान अधिकारीहरूसँग भेट गर्दैछन् । उनका अनुसार संघले यस विषयमा तालिवानसँग थप स्पष्टीकरण माग गर्नेछ ।
प्रतिबन्ध अस्वीकार्य
गत वर्ष डिसेम्बरमा तालिबानले सबै विदेशी तथा स्वदेशी गैरसरकारी संस्थाहरूलाई महिला कर्मचारीहरूलाई काममा नरोक्न आदेश दिएको थियो । त्यतिबेला संयुक्त राष्ट्र संघले यो प्रतिबन्ध आदेशमा छुट पाएको थियो। अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले मंगलबार नान्गाहार प्रान्तमा आफ्ना महिला कर्मचारीलाई काममा जान प्रतिबन्ध लगाइएको जनाएको छ । संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ताका अनुसार गुटेरेसले यस्तो प्रतिबन्ध ‘अस्वीकार्य र स्पष्ट रूपमा अकल्पनीय’ भएको बताए।
दुजारिकले भने, ‘यस्ता आदेशले महिलाहरूको मौलिक अधिकार तथा गैर-भेदभावको सिद्धान्तको उल्लङ्घन गर्दछ।’ उनले भनेका छन – संयुक्त राष्ट्रसंघले हाल करिब २ करोड ३० लाख मानिसलाई मानवीय सहायता उपलब्ध गराउने काम गरिरहेको छ, जुन अफगानिस्तानको आधाभन्दा बढी जनसंख्या हो ।
महिला अधिकार कुण्ठित गर्दै तालिबान
महिला कामदारहरू देशमा ग्राउन्ड सपोर्ट सञ्चालनका लागि महत्त्वपूर्ण छन् । अन्य खाँचोमा परेका महिलाहरूको पहिचान गर्नुपर्दा उनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । गुटरेसले नान्गाहारमा प्रतिबन्धको पनि निन्दा गरे र ट्वीट गरे कि प्रतिबन्धले ‘आवश्यक रूपमा खाँचोमा परेकाहरूलाई जीवन बचाउने सहयोग पुर्याउने हाम्रो क्षमतालाई कमजोर बनाउनेछ।’
अफगानिस्तानमा सत्तामा आएदेखि तालिबानले देशमा थप उदार अवस्था ल्याउने वाचा गरे पनि, यस पटक यसका नियमहरू पहिलेका भन्दा कडा छन्। तालिबानले यस्तो कडा कानुन लागू गरेको छ जसले देशका महिलाहरूको जीवन कष्टकर बनाएको छ। सार्वजनिक जीवन र शिक्षामा महिलाहरूको सहभागितामा प्रतिबन्ध लगाएर तालिबानले अफगान महिलाहरूको अवस्था बिगारेको छ । तालिबानले त्यहाँ छैठौं कक्षाभन्दा माथि केटीहरूको शिक्षामा प्रतिबन्ध लगाएको छ भने महिलाहरूलाई एक्लै घर बाहिर निस्कन निषेध गरेको छ। -एएफपी
प्रतिक्रिया