हनुमान : कलियुगका जीवित देवता

भगवान् हनुमानलाई शास्त्र र वेदहरूमा कलियुगको देवताका रूपमा वर्णन गरिएको छ । भनिन्छ जसले हनुमानजीको साँचो भक्तिपूर्वक पूजा गर्छ, उसलाई भगवानले अवश्य दर्शन दिनुहुनेछ । त्यसैले उहाँलाई कलियुगको जीवित वा जागृत देवता भनिन्छ । तुलसीदासले कलियुगमा हनुमानको उपस्थितिको पनि उल्लेख गरेका छन् । हनुमानजीको कृपा पछि मात्र तुलसीदासले राम र लक्ष्मणको दर्शन पाएका थिए । भनिन्छ आज कलियुगमा भगवान हनुमान यी स्थानमा विराजमान छन् ।
गन्धमादन पर्वत : भगवान हनुमानले यो पर्वतमा बास गरेका थिए भन्ने धेरै प्रमाणहरू पाइन्छन । यो ठाउँमा तपस्या गरेर धेरै ऋषि-मुनिले पनि हनुमान जीको दर्शन पाएको बताइन्छ । महर्षि कश्यपले पनि यही पर्वतमा तपस्या गरेका थिए । यो पर्वत कैलाश पर्वतको उत्तरमा अवस्थित छ । भगवान् रामबाट अमरत्वको वरदान पाएपछि हनुमानजीले यही पर्वतलाई आफ्नो निवासका रूपमा रोजेका थिए ।
किष्किन्ध अञ्जनी पर्वत : रामायणमा पनि यो पर्वतको उल्लेख छ । माता अञ्जनीले कर्नाटकको कोप्पल र बेल्लारी जिल्ला नजिकको किष्किन्ध क्षेत्रमा भएको यो पर्वतमा तपस्या गरेकी थिइन् । भगवान राम र हनुमानजीको भेट पनि यही पर्वतमा भएको थियो । भनिन्छ अहिले पनि यो पहाडमा हनुमान जीको वास छ ।
रामायण पाठ : शास्त्रमा भनिएको छ – जहाँ रामायणको पाठ हुन्छ त्यहाँ कुनै न कुनै रूपमा हनुमान अवश्य उपस्थित हुन्छन् । त्यसैले त कयौं पटक रामायण पढेको ठाउँमा बाँदर आउने गरेको देखिन्छ ।
रामभक्त : भगवान् हनुमान आफ्ना भक्तहरूमा मात्र होइन रामभक्तको मनमा पनि बास गर्नुहुन्छ । रामायणमा उल्लेख भए अनुसार जब भगवान राम पृथ्वीलोक छोड्दै थिए भक्त हनुमान पनि उहाँसँग जान चाहन्थे । तर रामजीले भने, जब कलियुग आउँछ तब धर्मको अन्त्य हुनेछ । त्यतिबेला तिमी राम भक्तहरूको हृदयमा रहनेछौ । त्यसैले हनुमान जी सधैं राम भक्तहरूको हृदयमा बास गर्नुहुन्छ ।
प्रतिक्रिया