आमाकै नाममा नागरिकता दिने व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता उल्लेख गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका हुन् ।
बैठकमा सांसद विद्या भट्टराईले एकल महिलाबाट जन्मिएको बच्चाको मावलीको थरबाट जन्मदर्ता गर्ने विषय नेपालको संविधानअनुसारको प्रावधान विपरीत रहेको बताईन् । सांसदद्वय सुशीला थिङ र सुशीला श्रेष्ठले पनि एकल महिलाबाट जन्मिएका बच्चाको मावलीको थर राख्ने प्रावधानप्रति असहमति प्रकट गर्दै यसमा आमाको थर भन्नुपर्ने माग गरेका छन् ।
सांसद विजुला रायमाझीले अर्घाखाँचीमा बेमौसमी वर्षाले पुर्याएको क्षतिप्रति जानकारी गराउँदै उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराईन् । सांसद विना लामाले गाउँपालिकाहरुमा सानो उपचारका लागि पनि ठूलो खर्च गरेर ठूला सहर धाउनुपर्ने बाध्यता हटाउन माग गरिन् । सांसद विराजभक्त श्रेष्ठले यही चैत २१ गते चितवनमा हात्तीको सुँड काटिएको जानकारी गराउँदै दोषीलाई कारबाही गरी हिंसारहित पर्यटनतर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद शान्ति विकले अझै जातीय विभेद यथावत् रहेको अवस्थामा यसमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिन् । सांसद शान्ति श्रेष्ठले जोरपाटी क्षेत्रमा चार पुल जीर्ण र साँघुरो भएको जानकारी गराउँदै नयाँ पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराईन् ।
प्रतिक्रिया