हैदरावाद बिरुद्ध लखनउको जित

नेपालखोज २०७९ चैत २५ गते ६:११

काठमाडौं । इन्डियन प्रिमियर लिगको १६ औं सिजनमा लखनउ सुपरजायन्ट्सले आफ्नो घरेलु मैदानमा दोस्रो जित दर्ता गरेको छ । केएल राहुलको कप्तानीमा रहेको लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो ।

लखनउको जितका लागि कृणाल पाण्ड्याले दोहोरो प्रदर्शन गरे । पाण्ड्याले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । उनले बलिङमा हैदरावादको टप अर्डरको कमर तोडे भने कप्तान केएल राहुलले जिम्मेवारीपूर्ण इनिङ्स खेलेर टिमलाई जित दिलाए । राहुल ओपन गर्न आए र कठिन पिचमा आफ्नो संयम कायम राखे । उनले ३१ बलमा ३५ रन बनाए । लखनउका स्पिनर अमित मिश्रा र रवि बिश्नोईले पनि उत्कृष्ट बलिङ गरे। अमितले चार ओभरमा २३ रनमा २ विकेट लिए भने रवि बिश्नोईले चार ओभरमा सबैभन्दा कम १६ रन खर्चेर एक विकेट पनि लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो भने लखनउले ५ ओभरमा ५ विकेट गुमाएर १२२ रनको लक्ष्य पुरा गरेको थियो ।

आईपीएलको यो दशौं खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । त्यस्तै अनमोलप्रित सिंहले ३१ रन बनाए भने अब्दुल समद अन्तिम ओभरमा १० बलमा २१ रन बनाएर अपराजित रहे ।

सनराइजर्स हैदरावादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि कुणाल पाण्ड्या र अमित मिश्राको स्पिन बलिङका अगाडि ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

लखनउको अटल बिहारी वाजपेयी स्टेडियममा लखनऊ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावादबीचको खेल यो रंगशालामा आईपीएलको पहिलो खेल थियो भने यो सिजनमा लखनऊ सुपर जायन्ट्सको तेस्रो खेल थियो । पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको लखनउ दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो ।
अर्कातर्फ, सनराइजर्स हैदरावादका लागि यो सिजनको दोस्रो खेल थियो ।

सनराइजर्स हैदरावाद आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । लखनउको टिमको कमाण्ड लोकेश राहुलका लागि हातमा थियो भने हैदरावाद पहिलो पटक एडेन मार्करामको कप्तानीमा मैदानमा ओर्लिएको थियो । हैदरावादको पहिलो खेलको नेतृत्व भुवनेश्वर कुमारले गरेका थिए । आईपीएलमा यी दुई टिमबीचको यो दोस्रो खेल हो । गत सिजनमा दुवै टिम पहिलो पटक भिडेका थिए , जहाँ लखनउले हैदरावादलाई १२ रनले पराजित गरेको थियो।

प्रतिक्रिया