शुक्रबार, जेठ ४, २०८१

फैलिँदै ड्राइगन फ्रुट खेती

नेपालखोज २०७९ चैत २६ गते १६:५६

झापा । झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो ।

कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् । गौरीगञ्ज गाउँपालिका–२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत् आठ बिघामा ड्राइगन फ्रुटको व्यावसायिक खेती गरेका छन् । उनले दुई वर्षअघि खेती सुरु गरेकोमा गत वर्षदेखि उत्पादन सुरु भइसकेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्राइगन फ्रुट खेती थालेको थापाको भनाइ छ । ‘अघिल्लो वर्ष रू १२ लाखको बेचेँ’, उनले भने, ‘यो वर्ष पनि फूल फुल्न र चिचिला लाग्न थालेको छ ।’

यस वर्ष रू ३० देखि ४० लाखको ड्राइगन फ्रुटको कारोबार हुने उनको अनुमान छ । गतवर्ष झापा र मोरङका विभिन्न बजारमा आफ्नो उत्पादन पुगेको बताउँदै थापाले यस पटक बजारको अवस्था केही असजह भएको सुनाए । ‘महँगो फल हो, बजार पनि असहज छ । यस पटक काठमाडौँसम्म ड्राइगन फ्रुट पुर्याउने सोच छ’, उनले भने । थापाले व्यावसायिक खेतीका लागि कृषि ज्ञान केन्द्र झापाबाट रू सात लाख अनुदानसमेत पाएका छन् । गतवर्ष कार्यालयमार्फत् पिलर र थोपा सिँचाइका लागि उक्त रकम अनुदान पाएको उनले बताए ।

अर्जुनधारा–११ का कृष्ण गौतमले श्री एग्रिकल्चर नर्सरी स्थापना गरी आठ कठ्ठामा एक हजार ६६ ड्राइगन फ्रुटको बिरुवा लगाएका छन्। ‘झण्डै २० वटा विभिन्न फर्म घुमेर ड्राइगन फ्रुट खेती सुरु गरेको हुँ’, उनले भने, ‘खेती गर्न सजिलो छ, उत्पादनको मूल्य पनि राम्रो छ ।’ धेरै हेरचार गर्नु नपर्ने, पानी मल धेरै नचाहिने र बजार मूल्य पाि राम्रो भएका खेती सुरु गरेको उनले बताए । ढुवानीसहित रू दुई सय ५० को दरले धरानबाट ‘रोज पिटया’ नामक ड्राइगन फ्रुट बिरुवा किनेर खेती थालेको उनको भनाइ थियो । ‘सुरुमा बीउ किनेर ल्याएर बिरुवा उत्पादन गरे पनि राम्रो फल नलाग्ने भएपछि बिरुवा नै किनेर लगाएको छु’, उनले भने ।

झापाको गौरीगञ्ज, मेचीनगर, दमक, बाह्रदशी, भद्रपुर, अर्जुनधारालगायत स्थानमा किसानले ड्राइगन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन् । पानीमा नडुब्ने डोमट माटोमा यसको खेती राम्रो हुने प्रमुख विष्टले बताए। मल र सिँचाइ राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौंसम्म फल्छ । ड्राइगन फ्रुटको सिजन चैतदेखि असोजसम्म मानिन्छ । चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ । कृषि ज्ञान केन्द्र झापाले ड्राइगन फ्रुट खेती प्रवद्र्धनका लागि सिँचाइ र पिलरका लागि अनुदान दिइरहेको छ ।

प्रतिक्रिया