अन्तिम पाँच बलमा पाँच छक्कासँगै कोलकाताको अविश्वसनीय जित

काठमाडौं । युवा ब्याटर रिंकु सिंहले अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा गुजरात टाइटन्समाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । कोलकातालाई जितको लागि अन्तिम ६ बलमा २९ रन चाहिँएको थियो ।
जितका लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा हिरो बनेका रिंकु २१ बलमा १ चौका र ६ छक्कासहित ४८ रनमा अविजित रहे । वेंकटेश ऐरले ४० बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए ।
कार्यवाहक कप्तान राशिद खानले १७ औं ओभरमा ह्याट्रिक गरेपनि जित दिलाउन सकेनन् । कोलकातालाई जितका लागि २४ बलमा ५० रन चाहिएको थियो ।
गुजरातलाई ओपनर शुभमन गिल र ऋद्धिमान शाहले ४.२ ओभरमा ३३ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर सुनिल नारायणको बलमा नारायण जगदीशनले डिप मिडविकेटमा शाहको उत्कृष्ट क्याच लिएका थिए । उनले १७ बलमा ३ चौकासहित १७ रन बनाएका थिए ।
शुभम गिल ३१ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । दोस्रो विकेटका लागि गिल र सुदर्शनले ६७ रनको साझेदारी गरेका थिए । सयुश शर्माले अभिनव मनोहरलाई १४ रनमा बोल्ड गरेका थिए । कोलकाताको जितमा सुनिल नारायणले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । सुयश शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।
गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । गुजरातले अव बिहीबार पन्जाब किंग्ससँग खेल्नेछ ।
कोलकाता पहिलो खेलमा पन्जाबसँग ७ रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराएको थियो । कोलकाताले अव शुक्रबार सनराइजर्स हैदराबादसँग खेल्नेछ ।

प्रतिक्रिया