पन्जाबको पहिलो हार, हैदराबादको पहिलो जित

नेपालखोज २०७९ चैत २७ गते ७:३३

काठमाडाैं । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा पन्जाब किंग्सलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । पन्जाबले पहिलो हार व्यहोर्दा हैदराबादले पहिलो जित दर्ता गरेको हो । जितका लागि १ सय ४४ रनको मध्यम विजयी लक्ष्य हैदराबादले १७.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादको जितमा राहुल त्रिपाठीले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रनको योगदान दिएका थिए भने कप्तान एडेन माक्ररमले २१ बलमा ६ चौकासहित ३७ रन बनाए । तेस्रो विकेटका लागि राहुल र एडेन माक्ररमले १ सय रनको अविजित शतकीय साझेदारी गरे ।

ओपनर ह्यारी ब्रुक १३ र मयंक अग्रवाल २१ रनमा आउट भए । पन्जाबका अर्शदीप सिंह र राहुल चाहरले एक एक विकेट लिए । त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । पन्जाबका कप्तान शिखर धवनले ६६ बलमा १२ चौका र ५ छक्कासहित सर्वाधिक ९९ रनमा अविजित रहँदै कप्तानी इनिङ खेले। धवनको एकल प्रदर्शन जितका लागि भने पर्याप्त हुन सकेन किनभने धवन बाहेक अन्य कुनैपनि ब्याटसम्यानले सम्झन योग्य प्रदर्शन गर्न सकेनन् ।

हैदराबादका मयंक मारकन्डेले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उमरान मलिकले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मार्को यानसनले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रन र लखनऊ सुपर जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो ।

हैदराबादले अव शुक्रबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । उता पन्जाबको यो पहिलो हार हो । पन्जाबले पहिलो खेलमा कोलकातालाई ७ रन र दोस्रो खेलमा राजस्थान रोयल्सलाई ५ रनले हराएको थियो । पन्जाबले अब बिहीबार गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया