तेस्रो जितका साथ लखनऊ शीर्ष स्थानमा

नेपालखोज २०७९ चैत २८ गते ६:२७

काठमाडाैं । विकेटकिपर निकोलस पुरनले विष्फोटक ब्याटिङ गरेपछि लखनऊ सुपर जायन्ट्सले सोरौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) – २०२३ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक विकेटको रोमान्चक जित दर्ता गरेको छ । यससँगै लखनऊ तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

लखनउले २ सय १३ रनको विशाल लक्ष्य २० ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो । लखनऊको जितमा निकोलस पुरनले १९ बलमा ४ चौका तथा ७ छक्कासहित ६२ रनको विष्फोटक ब्याटिङ गरे । लखनऊलाई जितका लागी अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । तीव्र गतिका बलर हर्षल पटेलले जयदेव उनादकटलाई एक रन दिए । फुलटस दोस्रो बलमा मार्क वुडलाई बोल्ड गरेपछि चार बलमा चार रन चाहिँएको थियो । रवि विश्रोईले तेस्रो बलमा दुई रन बटुले । चौथो बलमा एक रन बटुल्दा पाँचौं बलमा लङअनमा जयदेव उनादकट क्याच आउट भए । अन्तिम एक बल बाँकि छँदा लखनऊलाई एक रन चाहिँएको थियो ।

अन्तिम बलमा आवेश खान मिस भएपनि विकेटकिपर दीनेश कार्तिकले रन आउट गर्न चुकेपछि लेगवाइका रुपमा रन बटुल्दै लखनउले रोमान्चक जित हात पारेको हो । पुरनले आजको खेलमा १५ बलमा अर्धशतक पूरा गरेर रेकर्ड बनाए । पुरन मोहम्मद शिराजको १७ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्ने धुनमा डीप स्क्वायर लेगमा शहबाज अहमदबाट क्याच आउट भएका थिए । आइपिएलमा सर्वाधिक छिटो अर्धशतक लोकेश राहुल र प्याट कमिन्सले समान १४ बलमा हानेका थिए । युसुफ पठान र सुनिल नारायणले पनि १५-१५ बलमा अर्धशतक पूरा गरेका थिए । छैटौं विकेटका लागी आयुष बदोनी र पुरनले ३५ बलमा ८४ रनको विष्फोटक साझेदारी गरेका थिए ।

बदोनी २४ बलमा ४ चौकासहित ३० रनमा आउट भए । बदोनी दुर्भाग्यपूर्ण आउट भए । यसअघि लखनऊको सुरुवात भने राम्रो थिएन । तीव्र गतिका बलर मोहम्मद शिराजले पहिलो ओभरको तेस्रो बलमै ओपनर कायल मेयर्सलाई शून्यमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड भएका थिए । चौथो ओभरमा तीव्र गतिका बलर वेन पार्नेलले दुई विकेट लिँदै बेंगलोरलाई सानदार सुरुवात दिलाएका थिए । पार्नेलले दीपक हुडालाई ९ र क्रुनाल पान्ड्या शून्यमा आउट गराएका थिए । एक समय २३-३ को अवस्थामा पुगेको लखनऊलाई चौथो विकेटका लागीका लागि कप्तान लोकेश राहुल र मार्कस स्टोइनिसले ४० बलमा ७६ रनको साझेदारी गरे ।

मार्कस स्टोइनिस ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रनको उत्कृष्ट इनिङ खेले । उनी स्पिनर कर्ण शर्माको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । लोकेश राहुल २० बलमा १८ रन बनाएर आउट भए । त्यसपछि मैदान आएका निकोलस पुरनले विष्फोटक ब्याटिङ खेललाई रोचक मोड दिए । रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएको यो खेलमा वेन पार्नेलले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । यसैगरी हर्षल पटेलले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेंगलोरफआज आफ्नो बलिङ नचल्दा पराजित हुन पुग्यो । बेंगलोरका कप्तान फाफ डु प्लेसिस ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रन बनाएर अविजित रहे पनि टिमको हार भने टार्न सकेनन् । पहिलो विकेटका लागि डु प्लेसिस र विराट कोहलीले ११.३ ओभरमा ९६ रनको सानदार साझेदारी गरेका थिए ।

विराट कोहली ४४ बलमा ४ चौका र ४ छक्कासहित ६१ रन बनाउँदै क्याच आउट भए । त्यसपछि दोस्रो विकेटका लागि डु प्लेसिस र ग्लेन म्याक्सवेलले ५० बलमा १ सय १५ रनको आक्रामक शतकीय साझेदारी गरे । म्याक्सवेल २९ बलमा ३ चौका र ६ छक्कासहित ५९ रनमा आउट भए । म्याक्सवेल अन्तिम ओभरको पाँचौं बलमा मार्क वुडको बलमा बोल्ड भएका थिए । लखनऊका लागि अमित मिश्राले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए भने मार्क वुडले ४ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा बेंगलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको थियो ।

बेंगलोर दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनले पराजित भएको थियो । बेंगलोर अव बैसाख २ गते शनिबार दिल्ली क्यापिटल्स भिडनेछ । यता लखनऊले दिल्लीलाई ५० रन र हैदराबादलाई ५ विकेटले हराएको थियो भने चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको थियो । लखनऊले अव आगामी शनिबार पन्जाबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया