सोमबार, वैशाख २९, २०८२

संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले इथियोपियामा सोमाली शरणार्थीहरू स्थानान्तरण गर्दै

नेपालखोज २०७९ चैत २९ गते ६:४४

काठमाडौं । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर) ले उत्तरी सोमालियाको लास एनोडमा सुरक्षा बल र नश्लवादी नेताहरूबीचको दोहोरिने झडपबाट भागेर हालै इथियोपियामा आएका सोमाली शरणार्थीहरूको स्थानान्तरण सुरु गरेको जनाएको छ । विगत तीन दिनमा सीमावर्ती क्षेत्रबाट नयाँ बस्तीमा आएका एवं अति जोखिममा परेका व्यक्तिहरूको स्थानान्तरण सुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मध्य फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि हजारौँ मानिसहरू सुरक्षा खोज्दै इथियोपियाको सोमाली क्षेत्रमा आइपुगेको बताएको छ । गत हप्तासम्म एजेन्सीको सहयोगमा इथियोपियाको शरणार्थी र फिर्ता सेवाद्वारा ९१ हजार मानिसहरूको आवागमन दर्ता गरिएको थियो । त्यस्ता शरणार्थीहरूमा अधिकांश महिला, बालबालिका र वृद्धवृद्धा छन् । तिनीहरूमध्ये तीन हजार चार सयभन्दा बढी पारिवारिक विच्छेदमा परेका बालबालिका र किशोरीहरू रहेको बुझिएको छ ।

एजेन्सीका अनुसार आगमनमा शरणार्थी परिवारहरूलाई बायोमेट्रिक रूपमा दर्ता गरिने र नयाँ घर स्थापना गर्न पाल र अन्य आवश्यक राहत सामग्रीहरू प्रदान गरिन्छ । इथियोपियाले सो कार्यका लागि चार सय हेक्टर जमिन छुट्याएको छ जहाँ शरणार्थीहरू बसोबास गर्न र अत्यावश्यक सेवाहरू जस्तै स्वास्थ्य सेवा र पानीलगायतका व्यवस्थापन गर्न सजिलो होस् । शरणार्थीहरूलाई इथियोपियाका जनताले उनीहरूको घरमा समेत बास दिइरहेका छन् ।

इथियोपियाले दशकौँदेखि हजारौँ शरणार्थीहरूलाई आश्रय दिरहेको छ र हाल दक्षिण सुडान, सोमालिया, इरिट्रिया र सुडान जस्ता छिमेकी देशहरूबाट करिब १० लाख शरणार्थीहरू त्यहाँ आश्रय लिरहेको बताइएको छ ।

प्रतिक्रिया