एनआरटीविरुद्ध संकटाको महत्वपूर्ण तीन अंक

नेपालखोज २०७९ चैत २९ गते २२:२०

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा न्युराेड डर्बीमा संकटा क्लव एनआरटीलाई पराजित गरेको छ ।

संकटाले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलले पराजित गरेको छ ।

संकटाका लागि जुनियर अनगुइने केनगुई र मनिष डाँगीले एक एक गोल गर्दा एनआरटीका लागि निकोलोश सर्ग सोङगले एक गोल गरेका थिए ।

संकटाले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा एनआरटीले एक गोल फर्काएको थियो ।  

खेलको २२ औं मिनेटमा जुनियर अनगुइने केनगुईले संकटालाई अग्रता दिलाए । निशान खड्काले प्रहार गरेको कर्नरमा केनगुईले गोल गरेका हुन् ।

त्यसपछि खेलको ३७ औं मिनेटमा संकटाले न्युरोड टिम एनआरटीविरुद्ध गोल गर्दै अग्रता दोब्बर बनायो । संकटाका लागि वान भर्सेस वानमा मनिष डाँगीले गोल गरेका  हुन् ।

पहिलो हाफमा दुई गोलले पछी परेको एनआरटीले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्कने कोशिश गरेको थियो ।

खेलको ६२ औं मिनेटमा एनआरटीका लागि निकोलोश सर्ग सोङगले गोल गरेका थिए ।

एनआरटीले त्यसपछि गोल गर्न नसक्दा संकटालाई महत्वपूर्ण तीन अंक सुम्पिएको छ ।   

प्रतिक्रिया