आइतबार, वैशाख १६, २०८१

‘भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्छ’

नेपालखोज २०७९ चैत २९ गते २२:३७

काठमाडौं । विभिन्न क्षेत्रका जानकारहरूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिले देशको रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २७औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले भाषा, साहित्य एवं संस्कृति देशको गहना भएको बताएका छन् ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका पूर्वराजदूत प्रा. डा. जयराज आचार्यले नेपाली भाषा, साहित्य, कला, संस्कृतिले देशलाई बलियो बनाउने बताए । उनले आदिकवि भानुभक्त आचार्य र पृथ्वीनारायण शाहको शालिक निर्माण गरेर गण्डकी क्षेत्रमा साहित्य र पर्यटनको विकास गर्नुपर्ने बताए ।

‘डाँडाकाँडामा भ्यूटावर निर्माण गरेर हुँदैन, चारतले अग्ला भवन निर्माण गरेर त्यसभित्र साहित्यकारको सबै पक्षलाई समेटेर म्युजियम बनाउनुपर्छ, जसले साहित्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ’, उनले भने । नेपालमा जन्मेर बेलायतमा बसेर प्राध्यापन तथा कानुन पेशामा सङ्लग्न प्रा डा सूर्यप्रसाद सुवेदीले लमजुङको वाङ्मयको विकासका लागि मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताए ।

विट्रेन नेपाल प्राज्ञिक परिषद्का पूर्वअध्यक्ष प्रा डा सुवेदीले लमजुङको कला, संस्कृति, भाषा, साहित्यको विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वराज्यमन्त्री रामबहादुर गुरुङले लमजुङको कला, संस्कृतिलाई प्रतिष्ठानले राष्ट्रियस्तरसम्म लैजानुपर्ने बताए। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताए।

प्रतिक्रिया