शुक्रबार, वैशाख २१, २०८१

कवि एवं गीतकार दिनेश अधिकारीकाे एल्बमबाट

दिनेश अधिकारी २०७८ कार्तिक २७ गते ११:१२

नारायणप्रसाद शर्मा नेपाली साहित्य, पत्रकारिता, शिक्षा, वामपन्थी राजनीतिका सन्दर्भमा सबैले उत्तिकै श्रध्दाले लिने नाम हो। वि. १९८८ साल फागुन शिवरात्रीका दिन दाङको बर्गदी गाउँमा जन्मनु भएका ९१ बर्षीय सबैका आदरणीय “नारायण गुरु” २०३४ सालदेखि आफैंले सम्पादन गर्ने गरेको दाङको घोराहीबाट प्रकाशनमा आइरहेको ” नयाँ युगवोध” ( हाल: दैनिक) मा अहिले पनि नियमितरूपमा स्तम्भ लेखिरहनु भएकै छ। “युगवोध” ” युग चेतना” हुँदै ” नयाँ युगवोध ” बाट निरन्तरता पाएको त्यस क्षेत्रकै यो जेठो पत्रिका हो र अहिले उहाँको छोरा प्रताप रेग्मीले यसको सम्पादनको जिम्मेवारी सम्हालिरहनु भएको छ र शर्मा चाहिँ सल्लाहकारको भूमिमा निर्वाह गरिरहनु भएको छ । २०६६ सालमा प्रेस काउन्सिलको अध्यक्षको जिम्मेवारीमा रहनुभएका नारायणप्रसाद शर्मा २०६३ सालको वृहत् शान्ति संझौतापछि गठित संसदको सदस्य पनि हुनुहुन्थ्यो । त्यसो त नेपाल कम्युनिस्ट पार्टीको पहिलो सचिवको परिचय बनाउनु भएका शर्मालाई राप्ती साहित्य परिषदको संस्थापक अध्यक्षको हैसियतमा पनि हामीले सम्झनु पर्ने हुन्छ।

नारायणप्रसाद शर्माका साहित्यिक रचनाहरु २०१४ सालदेखि प्रकाशनमा आउन थालेका हुन। जेल दर्शन (२०१४), हिमाली रत्न (२०३५), अन्तर्द्वन्द (२०४३),एउटा स्वर , सवारीकोट दाङको(२०६०) उहाँका प्रकाशित खण्डकाव्यहरु हुन भने वेदना र बिद्रोहको सुसेली(२०७५) लघुकाव्य हो । मातेको मान्छे र प्रजातन्त्र (२०५३), पत्रकारिता मेरो मनयोग(२०६८)उहाँका कवितासङ्ग्रहहरु हुन। यसबाहेक फर्केर हेर्दा (२०६३) बुध्दको विश्व चिन्तन (२०६४), व्यवस्थापिका संसदमा मेरो अनुभूति (२०६६) पचहत्तर बर्षको जीवनयात्रा (२०६४ ) शीर्षकका कृतिहरु पनि प्रकाशनमा आएका छन्। प्रेस काउन्सिल पुरस्कार , राष्ट्रिय प्रतिभा पुरस्कार , प्रेस चौतारी सम्मान समेतका सम्मान / पुरस्कारद्वारा सम्मानित शर्माले करिब आधा दर्जन पत्रपत्रिकाको सम्पादन पनि गर्नुभएको छ।

अब फोटो को प्रसंगमा जाउँ,
त्यसबेला म नेपाल सरकारको कर्मचारी थिएँ र कार्यालयको कामको सिलसिलामा दाङको घोराही पुगेको थिएँ। यो, मेरो पहिलो दाङ – यात्रा थियो। कार्यालयको काम त आफ्नै ठाउँमा छँदै थियो। साहित्यमा अभिरुचि भएको कारण दाङ पुगेपछि मैले भेट्नै पर्ने नामहरु मध्येको पहिलो नाम थियो – नारायणप्रसाद शर्मा । मैले आफ्नो यो ईच्छा व्यक्त गरेपछि कुनै मित्रले मलाई उहाँको घरमा लगिदिनु भयो। उहाँसंगको यो मेरो पहिलो भेट थियो। केहीबेर कुराकानी गरेर म फर्किएँ। दिउँसो मलाई खवर आयो- कार्यालय समयपछि तपाईको सम्मानमा साहित्यकार बीच भेटघाट कार्यक्रम राखिएको छ, आउनु होला। पछि बुझ्दा थाहा भयो – यो भेटघाट कार्यक्रमका लागि नारायणप्रसाद शर्माले पहल गर्नु भएको रहेछ। म कार्यक्रममा गएँ। तत्कालीन त्रिभुवननगर जेसिस पुस्तकालय , घोराहीमा २०५९ साल चैत १८ गते भएको उक्त भेटघाट कार्यक्रममा म‌ैले लेखन सम्बन्धी आफ्ना केही मान्यता सहित केही कविताहरु सुनाएको थिएँ भने नारायणप्रसाद शर्मा सहित गिरीराज शर्मा, गोविन्द आचार्य ,शरद ऋतु, उत्तमकृष्ण मजगैंया, कृष्णराज डिसी, शंकर पौडेल, नारायण नेपाल, पूर्णचन्द्र भण्डारी, लोकराज पराजुली, केशव थापा, श्रीधर पौडेल , सुशील गौतम समेतले आफ्ना रचनाहरु सुनाउनु भएको थियो। नारायणप्रसाद शर्मासँगको मेरो यो तस्वीर भने त्यही दिन अर्थात २०५९ साल चैत १८ गते बिहान (पहिलो भेट हुँदा) घोराही स्थित उहाँकै निवासस्थानमा खिचिएको हो।

पछिल्लो पटक गएको जेठ ७ गते टेलिफोनमा कुरा हुँदा उहाँ भन्दै हुनुहुन्थ्यो – सब‌ैतिर नैतिकतामा ह्रास आएको कारण व्यक्ति आफैं नसुध्रेसम्म देशमा सुधार आउँदैन भन्ने लागेर अचेल म विपश्यनातिर लागेको छु।

प्रतिक्रिया