शनिबार, जेठ ५, २०८१

‘प्रेममा परेको मान्छे दिमाग होइन, मनको पागल हुन्छ’

सपना न्यौपाने २०७८ चैत २६ गते १०:५३

प्रेम एउटा फूल हो, जसलाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तरात्माको भावना हो, जसलाई बुझ्नुपर्छ । प्रेम एउटा सपना हो, जसलाई सजाउनुपर्छ । प्रेम एउटा शक्ति हो, जसले एउटा अन्धो मान्छेलाई पनि सुनौलो संसार देखाउँछ । प्रेम एउटा खुसीको त्यो पल हो, जसले हजारौं दुःख र पीडाका पलहरू भुलाउन विश्वास दिलाउँछ । प्रेम नै दुई मनमुटुको मिलन हो, जसलाई मिलाउनुपर्छ । यसरी नै प्रेमका विभिन्न परिभाषा दिइएका पाइन्छन् । तर जतिसुकै परिभाषाले पनि प्रेमको अर्थ पूर्ण भएको छैन । किनकि प्रेम गन्तव्यविहीन छ अर्थात् कति प्रेम गर्ने भन्ने सीमा नै छैन । तर यसलाई तुलना गरेर जाँच्न भने सकिन्छ, जुन भावनामा मात्र सीमित छ ।

प्रेम अपवित्र हुन्छ र ?

हजारौं प्रेमीहरूको प्रेमको परिभाषाले पनि प्रेमको उपयुक्त परिभाषा दिलाउन सकेको छैन । प्रेमले एउटा बेग्लै अर्थ दिएको छ, जुन भावनाले मात्र बुझ्न सकिन्छ । प्रेम भगवानले दिएको अमूल्य उपहार हो, जसलाई मनमा सजाएर पूजा गर्नुपर्छ । प्रेमलाई यस्तै थरिथरिका परिभाषाले नै रंगिन बनाएको छ । संसारका सफल प्रेमीहरूले यसलाई नया रंग दिएका छन् । यो रंगिन संसार नै प्रेममा सजिएको छ ।

आफन्तसँग एउटा किसिमको माया हुन्छ भने जीवनसाथीसँग अर्कै हुन्छ । साथीसँग अर्कै किसिमको माया–प्रेम गाँसिने गर्छ । प्रेम केवल पवित्र छ, तर कसैको सोचअनुसार यो अपवित्र पनि छ । यस संसारमा यस्ता मान्छेहरू पनि छन्, जसले प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गरेका छन् । तिनीहरूलाई वास्तविक प्रेमको अर्थै थाहा छैन, त्यसैले अरूलाई पनि आफूजस्तै ठान्ने गरेका छन् । प्रेम के हो त्यो एउटा प्रेमीलाई मात्रै थाहा हुन्छ । प्रेमले एउटा खतरनाक शत्रु पनि हृदयको साथी बन्न सक्छ, अर्थात् एउटा असल मित्र बन्न सक्छ ।

मैले एकदिन ‘प्रेम के हो ?’ भनेर भगवानसँग एउटा प्रश्न राखँे । तर, उनले जवाफ यस्तो दिए, ‘पहिले कसैलाई मनदेखि नै प्रेम गरेर हेर अनि यसको जवाफ तिमी आफै पाउनेछौ’ अर्थात ‘प्रेम गर्नु नै प्रेम हो’ । तर मलाई अचम्म लाग्न थाल्यो कि, यो त्यस्तो के चिज रहेछ जसको जवाफ नै छैन अर्थात जसको अर्थ नै भन्न सकिँदैन । तर हो रहेछ, प्रेमलाई वास्तविक अर्थभन्दा पनि भावनाले बुझ्दा उपयुक्त हुने रहेछ ।

प्रेम नै त्यो खुसी रहेछ, जसले आँसुको मूल्य तिर्न सक्दो रहेछ । अनगिन्ति दुःख र पीडा भुलाउन सक्ने अथवा मेटाउन सक्ने औषधि नै प्रेम बनेको छ । धेरैजसो मान्छेहरू प्रेमको पर्खाइमा भौँतारिरहेका हुन्छन् भने धेरैजसो मान्छेहरूको पर्खाइमा प्रेम नै भौँतारिरहेको हुन्छ । कसैको आँसुलाई प्रेमले खुसीमा बदल्छ भने कसैको खुसीलाई प्रेमले नै आँसुमा बदलिदिन्छ ।

प्रेममा पागलपन के हो ?

सामान्यतः पागल भन्नाले मानसिक अवस्था ठीक नभएको अवस्थालाई बुझिन्छ । तर प्रेममा पागलपन भन्नाले मान्छेको मानसिक अवस्था ठीक भएर पनि कसैको अथवा कसैसँगको प्रेमले तड्पिएर पागलजस्तो व्यवहार गर्नु हो । मान्छे कुनै बेला प्रेमको गहिराइमा यतिसम्म धकेलिन्छ कि त्यो गहिराइबाट निस्कन निकै गाह्रो पर्छ ।

प्रेममा परेको मान्छे दिमागको होइन, मनको पागल हुन्छ । त्यही पागलरूपी मनले गर्दा उसलाई एक–एक पल तड्पिएर जिउन बाध्य गराउँछ । मान्छेहरू चाहेर त सायद कोही पनि पागल हुँदैनन्, तर कसैकसैको जिन्दगीले त्यस्तै नै मोड लिन्छ, जसकारण प्रेमले पागलपन दिन्छ । हरेक मान्छेहरू खुसी जीवनको सुरुवात गर्न नै प्रेम गर्छन् र प्रेमको बन्धनमा बाँधिन्छन् । तिनीहरूको प्रेम जति गहिराइमा पुग्दै जान्छ, एक–अर्कालाई त्यतिं नै धेरै माया गर्दै जान्छन् ।

जोडीको प्रेममा एउटा यस्तो पागलपनले ठाउँ लिइसकेको हुन्छ कि तिनीहरू एक–अर्काबीच चुम्बक झैंै जोडिएर रहेका हुन्छन् । अर्थात् ती प्रेमीहरू एक–अर्काबाट टाढिनै नसक्ने भएका हुन्छन् । उनीहरूलाई प्रेमको पागलपनले धेरै नै गहिराइमा डुबाइसकेको हुन्छ । त्यही नै प्रेमको पागलपन हो ।

कुनै प्रेमीहरूको मनले कुनैबेला यस्तो मोड लिन्छ कि, तिनीहरू वियोगमा आफूलाई सम्हाल्न सक्दैनन् र आफ्नो मन कमजोर बनाउँछन् । आफूलाई सम्हाल्न नसकेर मन कमजोर बनाएकैले तिनीहरूलाई प्रेमको वियोगले पागलपन दिन्छ । यदि तपाईंको जीवनमा पनि प्रेमले यस्तै मोड लिएको छ भने आफूलाई चिन्न सक्नुपर्छ किन कि तपाईंलाई थाहा छैन कि तपाईंभित्र त्यो शक्ति छ, जुन तपाईं आफूलाई जस्तोसुकै वियोगमा सम्हाल्न सक्नुहुन्छ ।

के यो संसार नै प्रेममा स्वार्थी छ ?

संसार जस्तोसुकै भए पनि स्वार्थपन खोज्ने तपाईको मन नै स्वार्थी हो, जुन मनले आफूजस्तै देख्छ । यो संसार स्वार्थविनाको भएको भए पनि चल्दैनथ्यो होला किन कि हरेक कुराहरू सम्भव हुनलाई बराबर हुनु जरूरी छ । यदि आज तपाईभित्र स्वार्थपन छ भने तपाईंले आज यो संसार स्वार्थी देख्नुहुनेछ । तर जब तपाईं आफूभित्र भएको स्वार्थपन त्यागेर भोलि असल बन्नुहुनेछ भने यो संसारलाई पनि राम्रै देख्नुहुनेछ । तर वास्तवमा यो संसार बदलिएको हुँदैन, तपाईंको सोच र जिन्दगी नै बदलिएको हुन्छ ।

तपाईं जस्तो सोच्नुहुन्छ तपाईंको जिन्दगी पनि त्यस्तै देखिन्छ र त्यस्तै पनि बन्छ । यो संसारले तपाईंको जिन्दगीमा केही फरक पार्न सक्दैन । संसारलाई स्वार्थी देख्ने तपाईंको सोचाइमा स्वार्थपन मिसिएको छ । हरेक कुराहरू बाँच्नका लागि संघर्ष गर्न जरुरी हुन्छ । तपाईंको जीवन पनि संघर्षमा सीमित छ । जब तपाईं आफ्नो प्रेमको मिलनमा हुनुहुन्थ्यो, तब त यो संसारलाई स्वार्थी देख्नु भएन ।

तर आज तपाईं दुईको विछोड भयो र दोषचाहिँ यो संसारलाई दिन चाहनुहुन्छ । यो संसारले तपाईंको मायालाई मारेको छैन । तपाईं नै आफ्नो मायालाई मार्न चाहनुहुन्छ र रिसजति यो संसारलाई पोख्न चाहनुहुन्छ । चोखो प्रेम गर्ने प्रेमीहरूको सोच कहिल्यै पनि बदलिन सक्दैन । जब तपाईंको माया झूटो थियो, तब त तपाईंको सोच मिलनमा एउटा र बिछोडमा अर्कै हुन पुग्यो । संसारलाई स्वार्थी मान्ने तपाईंको स्वार्थपनको भूललाई आजैदेखि बदल्नुहोस् ।
-मूलपानी, काठमाडौं (हाल दुबई)

प्रतिक्रिया