सनराइजर्स हैदराबाद विजयी

नेपालखोज २०८० वैशाख २ गते ६:३०

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्स बिरुद्ध २३ रनको जित हात पारेको छ । जितका लागि २ सय २९ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्र बजाउन सक्यो ।

कोलकाताका कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएपनि टिमको हार टार्न सकेनन् । रिंकु सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे । कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो ।

हैदराबादको जितमा ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित १ सय रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । कोलकाताका आन्द्रे रसेलले २।१ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिएका थिए ।

यता हैदराबादका मार्को यानसनले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए भने भुवनेश्वर कुमारले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर १ विकेट लिए । स्पिनर मयंक मारकान्डेले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन र उमरान मलिकको खातामा समान एक – एक विकेट रह्यो ।

प्रतिक्रिया